एमाले कार्यदलले अध्यक्ष ओली र नेता नेपालसँग छलफल गर्ने
काठमाडौँ : नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा दलका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएको छ । उनीहरूबीच गत जेठ २ गते सहमति भई १० सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलको आज सिंहदरबारमा भएको बैठकले प्राप्त परामर्शका आधारमा तयार गरिएको सहमतिको मस्यौदालाई शीर्ष तहमा प्रस्तुत गरी बिहीबार पुनः बैठकपछि ठोस रूप दिइने समझदारी भएको नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार सहमतिका लागि गम्भीर र सकारात्मक रूपमा छलफल भएको र चाँडै निष्कर्षमा पुगिने छ ।
दलका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थित रूपमा सहमतिमा परिणत गर्न तनि दिनअघि कार्यदलको बैठक पुनः शुरु भएको हो । अध्यक्ष ओली महाधिवेशन आयोजक कमिटी विघटन गराई २०७५ जेठ ३ गते अगाडिको सांगठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।
एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न ओलीले समय दिएका थिए ।
कार्यदलमा अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त छन् । (रासस)

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया