दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको ‘कृषकसँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय किसानलाई कफी उत्पादनमा आकर्षित गर्दै आफ्नै ठाउँमा रोजगारी सृजना गर्ने दीर्घकालीन उद्देश्यसहित कफी प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो ।
नगरपालिकाले सुरु गरेको निकै महत्वकाङ्क्षी योजना सफल बनाउन यस वर्ष वडा नम्बर ६ नेर्पामा १२ लाख तथा वडा नम्बर १४ बुइपामा पाँच लाख कफीका बिरुवा उत्पादन गरिएको छ । नगरपालिकाको लगानीमा दुवै ठाउँमा स्थापना गरिएको नर्सरीमा कफीका १७ लाख बिरुवा हुर्किइरहेका छन् ।
बेलायतस्थित टेराम्रिदा कम्पनीले निःशुल्क उपलब्ध गराएको कफीका बीउ पाँच महिनाअघि छरेको बीउबाट अहिले बिरुवा बनिसकेका छन् । नगरपालिकाले स्थापना गरेको दुवै ठाउँका नर्सरीमा करिब एक सय जना कामदार खटिएका छन् ।
अहिले हुर्कँदै गरेका बिरुवा अबको वर्ष दिनपछि किसानलाई विरतण गरिने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । उत्पादित कफीको बिरुवामा किसानको पनि अपनत्व हुनेगरी थोरै शुल्कमा वितरण गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ । बेलायती कम्पनीले निःशुल्क बीउ उपलब्ध गराए पनि नर्सरी भने नगरपालिकाको लगानीमा स्थापना गरिएको जनाइएको छ । जग्गा, पाइप, बालुवा, पोलिब्याग, ग्रिननेट, श्रमिकलगायत व्यवस्थापन गरेर अहिलेसम्म २० लाख रुपैयाँ खर्च भइसकेको छ ।
नर्सरीमा उमारिएका कफीका बेर्ना १५ देखि १८ महिना पुगेपछि किसानलाई बाँड्ने तयारी गरिएको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए । ‘किसानका २५ जनाको समूह बनाएर कफीको बिरुवा वितरण गर्ने योजना छ । नर्सरीमा उत्पादित कफीका बिरुवा व्यक्तिगत रूपमा चाहिने किसानलाई पनि उपलब्ध गराइन्छ’, उनले भने, ‘गत वर्ष नगरपालिकाले ४२ हजार चार सय २० वटा बिरुवा खरिद गरेर किसानलाई बाँडेको थियो । त्यसमा नौ लाख १२ हजार ३० रुपैयाँ लागेको थियो । त्यसले किसानमा कफीप्रति आकर्षण बढाएको छ ।’
कफी प्रवर्द्धन कार्यक्रमका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट १५ लाख बजेट प्राप्त भएको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त रकमले कफीका बिरुवा खरिद गरेर किसानलाई निःशुल्क प्रदान गर्न तयारी गरिएको जनाइएको छ ।
आगामी वर्षदेखि अन्यत्रबाट बिरुवा खरिद गर्न नपरोस् भनेर नर्सरी नै स्थापना गरिएको नगरपालिकाले जनाएको छ । खरिद गरिएको बिरुवाभन्दा आफैँले उत्पादन गरेका बिरुवा सस्तो हुने भएकाले पनि नर्सरी स्थापना गरिएको जनाइएको छ ।
कफीले फल दिन थालेपछि नगरपालिकामा प्रतिवर्ष १२ अर्ब रकम भित्रिने आँकलन गरिएको उपप्रमुख विशन राईले बताए ।समुद्री सतहबाट आठ सयदेखि एक हजार छ सय मिटरको उचाइमा कफीखेती उपयुक्त मानिन्छ । यसअनुसार दिक्तेलको सोल्मा, नेर्पा, दोर्पा चिउरीडाँडा र निर्मलीडाँडामा कफीखेतीको राम्रो सम्भावना देखिएको छ ।
नगरपालिकाले गरेको अध्ययनअनुसार, नगरपालिका क्षेत्रभित्र कफीको एक करोड २० लाख बिरुवा लगाउन सकिने क्षेत्र छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा केही वर्षअघिदेखि कफीखेती हुँदै आएको छ । रासस

ढुङ्गाले लागेर एक्साभेटर चालकको मृत्यु

बालेनले भनेः महानगर कसैले फोहोर गर्छ भनेर जरिवाना तिराउन महानगर बस्दैन, सा…

सर्लाहीको महादेव मन्दिरमा चैते दशैंको मेलामा अष्टजाम पुजा सम्पन्न

हत्या गरी साधुको भेषमा लुकी हिड्ने लोकनाथ १७ वर्षपछि पक्राउ

तीनकुने घटनामा ज्यान गुमाउने परिवारलाई भेट्दै मेयर बालेनले भने- निष्पक्ष छा…

राती अबेरसम्म निन्द्रा लागेन ? खानुहोस् यी ४ खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया