आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

पाल्पामा पहिरो : एक जनाको मृत्यु, ७ जना घाइते

फाइल फोटो

काठमाडौँ : पाल्पामा पहिरोले पाँच घर बगाएको छ । तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै गएको पहिरोले गएराती पाँच घर बगाएको हो । पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् ।

स्थानीय कल्याणी आधारभुत विद्यालय नजिकै रहेको गिट्टिखानीमा गएको पहिरोमा ४५ वर्षीय बीर बहादुर गुरुङको पहिरोमा पुरिएका मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले आठ वर्षीय बालक आरब परियार बेपत्ता छन् ।

बिहान साढे तीन बजे तिर गएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पहिरोले घाइते भएकाहरुलाई कल्याणी आधारभुत विद्यालयमा राखेर उपचार भैरहेको र विस्थापितहरुलाई पनि सोही विद्यालयमा राखिएको स्थानीय विष्णु पाण्डेले बताए । हिजो राती देखि निरन्तर रुपमा परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । 

पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको प्रदेश ट्रफिक प्रहरी कार्यालय बुटवलका प्रहरी ईन्सपेक्टर ज्ञानु पाण्डेले जानकारी दिए ।