आइतबार ११ जेठ, २०८२
Sunday, May 25, 2025

आर्थिक पुनरुत्थानमा सर्वपक्षीय सहकार्य आवश्यक : अर्थमन्त्री

काठमाडौंः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले सिर्जना गरेको आर्थिक–सामाजिक र स्वास्थ्य समस्याहरुलाई सबै सरोकारवालाहरुको सहकार्यमा सम्बोधन गर्दै जाने बताएका छन् । उनले सरकारको सामथ्र्यसँग सन्तुलन राखेर रोजगारी बचाउन उद्यम, व्यवसाय सञ्चालनको निरन्तरतालाई सघाउन सरकार सधैं तत्पर रहेको बताए । निजी क्षेत्रसँगको सहकार्य र बौद्धिक तथा प्राज्ञिक क्षेत्रको सुझावमा अर्थतन्त्र पुनरुत्थानमार्फत् लगानी, उत्पादन र रोजगारी बढाउनु आफ्नो मुख्य ध्यान रहेको बताए । 

नेपाल आर्थिक पत्रकार समाजको २३औं स्थापना दिवस तथा २२औं साधरणसभालाई सम्बोधन गर्दै  मन्त्री पौडेलले विद्यमान बजेटको प्राथमिकतामा राखिएको स्थानीय स्वास्थ्य पूर्वाधार निर्माण अन्तर्गत सबै स्थानीय तहमा कम्तीमा ५,१० र १५ शैय्याको अस्पताल निर्माणलाई ३९६ स्थानीय तहबाट आजदेखि अभियानको रुपमा अघि बढाए । उनले आर्थिक गतिविधिलाई बढावा दिन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ व्यवसाय सञ्चालन गर्न सबै उद्यमी, व्यवसायीलाई आग्रह गरे । ‘जुन उद्यम, व्यवसायलाई सञ्चालनको निरन्तरतामा समस्या हुन्छ, त्यसलाई सरकारले सहयोग गर्छ,’ मन्त्री पौडेलले भने, ‘हाम्रो बजेट र मौद्रिक नीतिमार्फत् उद्यम, व्यवसायको सञ्चालनको निरन्तरता र रोजगारी संरक्षण केन्द्रीत कार्यक्रमहरु छन् । त्यी कार्यान्वयन हुनेछन् ।’

उनले स्रोत परिचालनमा सरकारको सामथ्र्यसँग सन्तुलन आवश्यक भएपनि निजी क्षेत्रलाई सहजीकरण र आवश्यक प्रशासनिक, प्रक्रियागत, कानुनी र व्यवहारिक सुधारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले आर्थिक पुनरुत्थान, लगानी आकर्षण, उत्पादन र रोजगारी सिर्जनाका लागि महासंघले रणनीतिपत्र तयार गरेको र सोही रणनीतिपत्रका आधारमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले कोभिड–१९ प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि प्रत्यक्ष अनुदान, राजस्व भुक्तानी र साँवाब्याज भुक्तानीमा सरकारले अझै केही समय सहयोग गर्नुपर्ने उल्लेख गरे । उनले निजी क्षेत्रमार्फत् उद्यमशीलता विकास, साना र मझौला उद्यमको संरक्षणका लागि पुँजी र प्राविधिक सहयोग पु¥याउने स्थायी संयन्त्रको आवश्यकता रहेको भन्दै परियोजना धितोमा आधारित कर्जाको व्यवस्था प्रभावकारी रुपमा लागू गर्न र एक दर्जन कानुनमा सुधार गर्न आवश्यक रहेको भन्दै महासंघले छिट्टै यसमा सरकारसँग परामर्श थाल्ने बताए । 

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश कुमार मोर र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोभिड–१९ ले शिथिल बनेको अर्थतन्त्र पुनरुत्थानमार्फत् अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सरकारले सार्थक सहयोग गर्नुपर्ने र त्यसमा सहकार्यका लागि निजी क्षेत्र तयार रहेको उल्लेख गरेका थिए ।

सम्मान र पुरस्कार 

सेजनले स्थापना दिवसका अवसरमा विद्युतीय र छापा सञ्चार माध्यमका उत्कृष्ट समाचारका लागि प्रदान गर्ने ‘सेजन अवार्ड’ बाट क्रमशः नागरिक दैनिकका बालकृष्ण ज्ञवाली र क्लीकमाण्डू डट कमका शोभित थपलिया सम्मानित भएका छन् । त्यस्तै, सेजनका उपाध्यक्ष एवं कारोबार दैनिकका पूर्व सम्पादक स्वर्गीय सञ्जय न्यौपानेको नाममा स्थापना गरिएको अनुसन्धानवृत्ति कारोबार दैनिककी लक्ष्मी सापकोटाले र हाइड्रोसोलुसन–सेजन लेखनीवृत्ति नयाँ पत्रिकाका जीवन बस्नेतले प्राप्त गरेका छन् । सेजनले स्थापना दिवसका अवसरमा वरिष्ठ आर्थिक पत्रकारहरु लक्ष्मण हुमागाईं, एकराज पाठक, प्रसन्ना चित्रकार र लोकबहादुर चापागाईंलाई सम्मान पनि गरेको छ । अर्थमन्त्री पौडेलले पत्रकारहरुलाई पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका थिए ।