शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

विपद्‌मा तीनै तहका सरकारको समन्वय आवश्यक

कर्णाली- कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले विपद्‌मा सबै तहका सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय विपद्‌मा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विपद्‌मा प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि २०८१’ सम्बन्धी अभिमुखीकरणमा मन्त्री बुढाले सरकारले राहतसम्बन्धी नयाँ मापदण्ड ल्याएको बताए । संघ तथा प्रदेश सरकारले राहत दिएको भन्दै त्यसको प्रभावकारी कार्यान्वयन स्थानीय सरकारबाट हुनुपर्नेमा उनले जोड दिए । 

पहुँचका भरमा काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने भन्दै उहाँले प्रदेश सरकारले जाजरकोट भूकम्पबाट क्षति पुगेका स्वास्थ्य र शिक्षा क्षेत्रका भौतिक संरचना निर्माणका लागि रु ५० करोड बजेट विनियोजना गरेको जानकारी दिनुभयो । जाजरकोट, रुकुमपश्चिम र सल्यानका भूकम्प प्रभावितको काम अगाडि बढ्ने र राहत वितरण जनमुखी हुने मन्त्री बुढाको भनाइ छ । 

प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले विपद्‌मा अन्त्य गर्न नसकिने भए पनि न्यूनीकरण गर्न सकिने धारणा राखे । ‘विपद्‌मा प्रभावित निजी आवास प्रवलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना कार्यविधि’ राष्ट्रिय परिषद्बाट स्वीकृत भइसकेकाले यथाशीघ्र लागू हुने चरण गएको बताए । 

उनले भने, “विपद्‌मा पीडितहरूलाई राज्यले धान्नसक्ने स्थिति नभएकाले विश्व बैंकबाट रु २१ अर्ब सहुलियत ऋण लिइएको छ । यसले पीडितको पीडामा मलम लगाउनेछ ।” उनका अनुसार प्राधिकरणलाई यतिबेला चार सय ७७ इञ्जिनियर आवश्यक छ । विभिन्न १६ संस्थाले ४५ दिनसम्मको खर्च व्यहोर्ने प्राधिकारणले जनाएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव उत्तम गौतमले विपद्‌मा पूर्वानुमान, तयारी र प्रदेश सरकारले निर्माण गरेको कार्यविधि र योजनाका बारेमा जानकारी दिए ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले मनसुनजन्य विपद्‌मा तथा आगलागीजन्य घटना र भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका बारेमा प्राधिकरणले गरेको योजनाबारे प्रस्तुति राखेका थिए ।