काठमाडौँमा पहिलो पटक चन्द्रागिरिले कार्यान्वयन गर्यो नागरिकताको अनलाइन सिफारिस

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सुरुआत गरेको छ । काठमाडौँ उपत्यकाभित्र पहिलोपटक नगरपालिकाले वडा नं १२ बलम्बुबाट सो सेवाको थालनी गरेको हो ।
यसका लागि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वय र सहकार्यमा नगरपालिकाले कार्यपालिका सदस्य एवं १५ वटै वडाका सचिवलाई आवश्यक तालिम प्रदान गरेको थियो ।
नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि–१२ बलम्बु निवासी अनुज महर्जन र टिसा श्रेष्ठलाई अनलाइन सिफारिस प्रदान गरेर सो सेवाको सोमबार थालनी गरे ।
गृह मन्त्रालयका अनुसार पुस मसान्तसम्म २८ जिल्लाका दुई हजार वडाले अनलाइन सिफारिस सुरुआत गरिसकेका छन् । मन्त्रालयले नागरिकता प्राप्ति प्रक्रियालाई थप सहज बनाउने ध्येयले विसं २०८० देखि नवलपरासीको गैँडाकोटबाट सो सेवा सुरु गरेको थियो भने यो कार्य सबै पालिकाबाट कार्यान्वयनमा आउने जनाएको छ । अनलाइन सेवाबाट अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो, किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाले सबै वडामा यही हप्तादेखि नागरिकताको अनलाइन सिफारिस सेवा प्रदान गर्ने जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने सेवालाई अनलाइनमार्फत प्रदान गर्ने नीतिअनुरुप हाल नक्सापास, राजस्व र पञ्जीकरण सेवा अनलाइनमार्फत भइरहेको छ ।
कार्यक्रममा नगरप्रमुख गिरीले नगरपालिकाले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै जाने नीति लिएको जानकारी दिनुहुँदै विद्युतीय हस्ताक्षर (डिजिटल सिक्नेचर) छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले नागरिकताको अनलाइन सिफारिस हुँदा नाम, थर, ठेगानालगायत अन्य आवश्यक कुरा अशुद्ध हुने समस्या सकेसम्म अन्त्य हुने र सेवाग्राहीले बिनाझन्झट सेवा पाउने जनाउँदै नगरपालिकाका अन्य सेवालाई पनि अनलाइनमार्फत प्रदान गरिँदै लगिने बताए । नगर उपप्रमुख वसन्ती श्रेष्ठले प्रविधिमैत्री सेवाका लागि सेवाग्राही पनि प्रविधिमैत्री बन्नुपर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौँका मुक्तिराम रिजालले काठमाडौँ उपत्यकाभित्र पहिलोपटक चन्द्रागिरि नगरपालिकाले नागरिकताको अनलाइन सिफारिस सेवा सुरु गरेकामा नगरपालिकालाई धन्यवाद दिनुहुँदै यो सेवा काठमाडौँका सबै पालिकामा कार्यान्वयमा ल्याइने जानकारी दिए ।
गृह मन्त्रालयका कम्प्युटर इञ्जिनियर दिवस कार्कीका अनुसार नागरिकताको अनलाइन सिफारिस सेवाले नागरिकता प्राप्तिमा थप सहजता हुने छ । हाल वंशज, वैवाहिक, अङ्गीकृत र गैरआवासीय नागरिकताका लागि अनलाइन सिफारिस लिन सकिने छ ।
चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनले नागरिकताको अनलाइन सिफारिस सेवाले सेवाग्राहीलाई नागरिकता प्राप्तिका लागि थप सहज बनाएको बताए । रासस
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया