जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी

काँक्रेविहार (सुर्खेत)- जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले रु २२ करोडभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले रु २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ आम्दानी गरेका हुन् ।
जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए ।
“यस वर्ष बोटबाट रु ५० देखि रु ८० प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा रु ५० मा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो रु ८० सम्म मूल्य पाएका हुन्”, आचार्यले भने । उनका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।
किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए ।
कुसे–५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताए । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उनको भनाइ छ ।
पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे–५ दम्दालाकी जानुका मल्लले बताउनुभयो । उहाँका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् ।
पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् । रासस

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया