बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

कांग्रेस–एमालेले संविधान संशोधनको कुरा उठाएर कानमा तेल हालेर बसे - प्रचण्ड

फाइल फाेटाे

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको कुरा उठाएर कानमा तेल हालेर बसेको टिप्पणी गरेका छन् । 

आइतबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता विषयक कार्यक्रममा प्रचण्डले संविधान संशोधनका लागि भन्दै सहमति गर्दै सरकार बनाउने तर अहिले कानमा तेल हालेर बस्ने काम भएको बताएका हुन् । 

उनले सरकार गठन भएको ६ महिना बित्दा पनि संशोधनको काम अघि नबढ्नुले कांग्रेस–एमालेले सत्ताकै लागि सहमति गरेको पुष्टि हुँदै गएको जिकिर गरे । संविधान परिवर्तनशील र गतिशील भएकाले संशोधन गर्न सकिने उल्लेख गर्दै उनले जनताले पाएको अधिकार खोस्ने गरी हो भने संविधान संशोधनमा कुनै हालतमा सहमत हुन नसकिने बताए । 

अहिले संशोधनभन्दा संविधानको कार्यान्वयनमा जोड दिनुपर्ने र जतिसुकै चाँडो संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउनुपर्ने बताए । 

प्रचण्डले मुलुकको परिवर्तनलाई जोगाउनका लागि नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक हो कि भनेर लाग्न थालेको बताए । 

उनले अहिले नै आफू विद्रोह गर्ने निर्णयमा पुगेको भन्ने अर्थ नलगाउन आग्रह गर्दै जनतामा देखिएको निराशा हेर्दा विद्रोहको आवश्यकता देखिएको बताए । 

उनले वर्तमान सरकार राष्ट्रपति दबाव दिएर संविधान मिचेर बनेको सरकार भएको दोहोर्याए ।