शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहिरहनेछ : प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताएका छन् ।

३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’ उनले भने,  ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’

जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।

‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो,’ उनले भने,  ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’

जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताए । 

‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं, आज त्यही स्थिति बनेको छ,´अध्यक्ष प्रचण्डले भने,  ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’

विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिमलगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको पनि उनले बताए । 

आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै उनले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताए।

अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गरे ।

क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र बिफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उहाँले क्रान्तिकारी शक्तिहरुलाई एकता र ध्रुवीकरणका लागि आह्वान गरेका छन् ।

राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उहाँले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ सङ्कल्प गर्ने बेला आएको बताए ।

‘जनताको घर आँगनमा उज्यालो ल्याउने सङ्कल्प आजको मुख्य कार्यभार बनेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’