सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

टीकापुरलाई गुलाफको सहर बनाइने, भ्यालेन्टाइन डेमा रोपियो चार हजार गुलाफको विरुवा

काठमाडौँ- भ्यालेनटाइन डेका अवसरमा कैलालीको टीकापुरलाई गुलाफको सहर बनाउने अभियान सुरु गरिएको छ । टीकापुर नगरपालिकाको अग्रसरता तथा विभिन्न संघ, सस्थाको सहयोगमा आज विभिन्न स्थानमा चार हजार गुलाफका विरुवा रोपी यसको शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए ।

“टीकापुर पहिलेदेखि नै गुलाफका लागि प्रसिद्ध छ, टीकापुरलाई विश्वकै पहिलो गुलाफको सहर बनाउने अभियान आजदेखि सुरु भएको हो”, उनले भने, “शुभारम्भका अवसरमा विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी, उद्योगी, समाजसेवी तथा सयौँको संख्यामा स्थानीयको सहभागिता थियो ।”

प्रमुख डगौराले नगरपालिकाको उक्त अभियानमा सुदुरपश्चिम प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयले आज पाँच लाख रुपैयाँ सहयोग गरेको समेत जानकारी दिए । “आज चार हजार विरुवाका लागि स्थानीयले नै सहयोग गर्नुभएको छ, नगरपालिकाको खर्च भएको छैन, तर अभियानलाई सफल बनाउन प्रदेश सरकारबाट आजै सहयोग प्राप्त भएको छ”, उनले भने । 

उनले एक वर्षमा सहरका सबै क्षेत्रमा गरी एक लाखभन्दा बढी गुलाफका विरुवा रोप्ने नगरपालिकाको लक्ष्य रहेको बताए । सहभागीहरुले आफ्नै खर्चमा विभिन्न गुलाफका विरुवा रोपेका थिए । जसमा प्रत्येक व्यक्तिले दुई वटादेखि ५० वटा विरुवासम्म रोपेको उनले जानकारी दिए । नगरप्रमुख डगौराले एक वर्षभित्रमा टीकापुरका विद्यालय, कलेज, सबै सरकारी कार्यालयदेखि सार्वजनिक जग्गामा गुलाफको फूल रोपिनेछ ।

त्यसअवसरमा टीकापुरदेखि व्यवसाय सुरु भइ मुलुकभर विस्तार गरेको सिद्धार्थ हस्पिटालिटीले पनि उक्त अभियानमा सहयोग गरेको जनाएको छ । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण न्यौपानेले उक्त अभियानको सुरुआत गर्न आफूले लामो समय देखी नगर प्रमुखहरुलाई अनुरोध गरी रहेको र यसैको माध्याम बाटनै टिकपुरको पर्यटन प्रबर्दनमा सहयोग पुग्ने बताए । 
उनले यहाँको आर्थिक विकासका लागि गुलाब माध्यम बन्ने बताए । “गुलाफ रोप्दा मात्रै सहरको सौन्दर्यीकरणमा ठूलो सहयोग पुग्छ, गुलाफको फूल बिक्रीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने, “त्यसबाहेक भ्यालु एड गरी यसबाट अत्तर बनाउन सकिन्छ भने जैविक विविधताका लागि पनि गुलाफ रोप्ने राम्रो हो ।”
टीकापुर र गुलाफबीच लामो समयदेखि सम्बन्ध छ । तत्कालीन राजा महेन्द्रले टीकापुरमा २८ दिनसम्म बसेर राज्य सञ्चालन गरेको इतिहास छ । विसंल २०२७ मा राजा महेन्द्र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा शिकार खेल्न पुगेका क्रममा मुटुको समस्या भएपछि त्यही आश्रम बनाइ बसेका थिए । 

राजा महेन्द्रले आफूले स्वास्थ्य लाभ गरेको ठाउँमा सुन्दर पार्क बनाउने र नजिकै एउटा सहर निर्माण गर्ने त्यसका लागि सर्वसाधारणलाई जग्गा दिएर बस्ती बसाउने सोच बनाए । महेन्द्रको उक्त सोचलाई उनका छोरा राजा वीरेन्द्रले अगाडि बढाएका थिए । 

वीरेन्द्रकै निर्देशनमा टीकापुर विकास समिति गठन गरी तत्कालीन मन्त्री खड्गबहादुर सिंहलाई अध्यक्षको जिम्मेवारी दिइयो । कूल ३९९ बिघा जग्गामा पार्क बनाइयो । पार्कमा राजा महेन्द्र र वीरेन्द्रका नाममा बनाइएका विश्राम घरहरू अहिले पनि छन् ।

टीकापुर पार्कभित्र अहिले पनि तत्कालीन राजा महेन्द्र, वीरेन्द्र बस्ने घरका साथै परिसरमा विभिन्न प्रजातिका गुलाफ छन् । कुनै समय ५२ वटा प्रजातिका गुलाफ पाइने पार्कमा हाल २६ प्रजातिका गुलाफ पाइन्छन् । पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका। ऐश्वर्य उद्यान पर्यटकको रोजाइमा पर्छन् ।