काठमाडौं महानगरले होस्टल नियमन गर्दै, बनायो कसिलो मापदण्ड

काठमाडौं - छात्रावासहरूलाई तोकिएको मापदण्ड अनुरूप सञ्चालन गराउन सूचकका आधारमा अनुगमन गरिने काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् ।
शिक्षा विभागले सम्पन्न गरेका काम, सम्पादन गरिरहेका काम र आगामी योजनाका विषयमा जानकारी लिने क्रममा होस्टेल व्यवस्थापनका विषयमा कुरा गर्दै यस्तो बताएकी हुन् ।
छात्रावास (होस्टेल)लाई व्यवस्थित, मर्यादित, सुरक्षित, पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थीहरू र सञ्चालकको अधिकतम हित गराउन जारी गरिएको ‘छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८०’ ले तोकेका व्यवस्था स्वतः कार्यान्वयनमा ल्याउने व्यवस्थाका लागि विभागले काम गर्नु पर्ने उनको भनाइ थियो । ‘यसरी गरिएका कामलाई अनुगमन समितिले निगरानी गर्नेछ,’ उनले भनिन् ।
मापदण्डले महानगरपालिकाभित्र छात्रावास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिबद्धतासहितको निवेदन, वडाको सिफारिस, छात्रावास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियामा जानुपर्छ । आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनु पर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँच पछि मात्रै महा नगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।
महानगरका अनुसार अब छात्रावासभित्र न्यूनतम् सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरू फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।
आगलागीजस्ता सम्भावित विपद् व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ । कोठा र शौचालय बाहेक अन्य स्थानको निगरानीका लागि सीसीटिभी क्यामरा जडान गर्नुपर्छ । हुलदंगा हुने, प्रदूषण हुने ठाउँमा छात्रावास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनु हुँदैन । एकबाट अर्कोको दूरी कम्तीमा २ सय मिटर हुनु पर्नेछ । एकै सञ्चालकले दुवै छात्रावास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ ।
सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन् । यस्ता नियम महा नगरपालिकामा पेस गरेर सहमति लिनु पर्नेछ ।
महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ । बस्ने छात्रछात्राको हालसालै खिचेको तस्विर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन । शैक्षिक वातावरण मिलाउनु पर्छ । कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सुर्तीजन्य पदार्थ ओसारपसार, बिक्री वितरण र प्रयोग गर्न पाइँदैन । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर कम्तीमा ३० वर्ष पूरा भएको हुनु पर्नेछ ।
मापदण्डमा छात्रावाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन् । शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ । त्यस्तै छात्रावास सम्बन्धी प्रस्ताव, प्रतिबद्धता पत्रलाई अनुसूचीमा ढाँचा दिइएको छ ।
महानगरपालिकाभित्र आवासीय प्रयोजनमा नक्सा स्वीकृत भएको भवनमा छात्रावास सञ्चालन भएको, परिवारका लागि बनाइएको संरचनामा खानेपानी र ढल निकासको चाप बढेको, संरचनागत जोखिम बढेको, रातको समयमा अवाञ्छित व्यक्तिहरू आवतजावत गरेको, लगातार ढोका खोल्ने र बन्द गर्ने क्रमले आवासीय क्षेत्रको शान्त वातावरणमा असर पारेको, ताजा खानेकुरा नदिएको, स्वच्छता र सरसफाइमा कमजोरी भएको भनेर वडामा व्यवस्थापनका लागि माग आउने गरे पछि महानगरले कडाइ सुरू गरेको हो ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया