आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

महाकुम्भबाट भाइरल बनेकी मोनालिसा रौतहटको मधानी महोत्सवमा सहभागी

रौतहट - भारतमा जारी महाकुम्भ मेलाबाट भाइरल बनेकी मोनालिसा रौतहटको मौलापुर नगरपालिका पतौराधामस्थित शिवमन्दिरमा आयोजित मधानी महोत्सवमा सहभागी भएकी छन् ।

महाकुम्भ मेलामा माला बेच्दै गरेकी मोनालिसा सामाजिक सञ्जालमा भाइरल बनेपछि केही दिनमै उनी इन्टरनेट सुपरस्टार बनेकी थिइन् । उनी हाल बलिवुड फिल्ममा समेत काम गर्दैछिन् । 

परौराधाम मोनालिसासहित भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेसहित उपस्थित भएर शिवमन्दिरमा दर्शन गरेका छन् । कलाकारहरूले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरेका थिए ।

पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रत्येक वर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।