जुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै

जुम्ला- जिल्लामा पछिल्लो समयमा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या वृद्धि हुँदै गएको छ । यहाँको तिला गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेका हुन् ।
पालिकाका पाँच स्वास्थ्य चौकीमध्ये तीन वटा स्वास्थ्य चौकीको अघिल्लो तीन वर्षको सार्वजनिक तथ्याङ्कअनुसार करिब दुई सय बढी बर्थिङ सेन्टरमा सुत्केरी भएका छन् ।
तीन वर्षको तथ्याङ्क अनुसार जुम्लाकोट सबैभन्दा बढीले बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिएका छन् । आव २०७९/८० मा ३७, आव २०८०/८१ मा ३३ र चालु आवको माघसम्म २६ जना बर्थिङ सेन्टरमा सुत्केरी भएका स्वास्थ्य चौकीका इञ्चार्ज विराजु जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही तीन वर्षभित्र १६ जनालाई ‘रिफर’ हो ।
यस्तै तिला–९ मा रहेको रासा स्वास्थ्य चौकीमा आव २०७९/८० मा १९, आव २०८०/८१ मा १८ र चालु आवको माघसम्म छ जनाले सेवा लिएका स्वास्थ्य चौकीका इञ्चार्ज दत्त रावतले जानकारी दिए । उनका अनुसार दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । पालिकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको रासा स्वास्थ्य चौकीले जनाएको छ ।
रारालिही स्वास्थ्य चौकीका अधिकृत हिमाली खत्रीका अनुसार आव २०७९/८० मा ४० र गत आवमा २२ जनाले बर्थिङ सेन्टरबाट सेवा लिएका छन् । चालु आवको माघसम्म सेन्टर बन्द हुँदा सुत्केरी सेवा लिनबाट बञ्चित भएका उनको भनाइ छ ।
स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउने प्रमुख लक्ष्य र सङ्कल्प रहेको स्वास्थ्य कार्यालयले बताएका छन् । “बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेका कुरुवालाई खानासहितको व्यवस्थापन गरिएको छ । भौतिक संरचनालाई प्रयोगमा ल्याएर सेवा प्रवाहलाई जनमुखी बनाइएको छ”, जुम्लाकोट स्वास्थ्य चौकीका इञ्चार्ज जिसीले भने ।
उनका अनुसार स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन पालिकाको स्वास्थ्य शाखामा पुगेर औषधि ल्याउने गरिएको छ । जटिल अवस्थाका सुत्केरीलाई व्यक्तिगत लगानीमा सदरमुकाम पठाउने गरेको इञ्चार्ज जिसीले बताए ।
“पालिकाले स्वास्थ्य चौकीका लागि तोकेर आवश्यक बजेट विनियोजन गरेको छैन । गुणस्तरीय स्वास्थ्य सेवा दिन वडा कार्यालय र स्थानीय सरकारले विशेष पहल गर्नुपर्दछ”, उनले भने ।

उत्कृष्ट तीन कृषक पुरस्कृत

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

‘सत्ता सञ्चालकका कमजोरीलाई लिएर व्यवस्थामाथि दोष नथुपारौँ’

सुर्खेत–जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने

हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

रारालिही बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीलाई सास्ती

रारास्थित एक होटेलमा आगलागी, ग्यासको सिलिण्डर पड्किँदा चार भवन नष्ट

प्रतिक्रिया