‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’

काठमाडौँ- माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसाको समस्या बढेको बताएकी छन् ।
बिहीबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिएको ‘महिला चलचित्र महोत्सव’ को समापन समारोहमा अध्यक्ष कोइरालाले काठमाडौँ उपत्यकामा मनोरञ्जनका क्षेत्र भनिने पब, लाउञ्ज, डान्स क्लबलगायत काम गर्ने अधिकांश किशोरीको उमेर १८ वर्ष रहेको र त्यहाँ हुने हिंसाका गुनासा बढिरहेको बताइन् ।
उनले भनिन्, “नेपालबाट महिलाको बेचविखन गरेर विदेश लगिन्छ भनेर हामीले काम गरिरहेका छौँ । अहिले टोलटोलमा खुलेका डान्स क्लब, पब, लाउञ्जमा काम गर्ने केटीहरू साना उमेरका हुनुका साथै हिंसाको शिकार भइरहेका छन् । उनीहरू कुलतमा फस्ने गरेको गुनासो मैले सुनिरहेकी छु । यसमा हामीले ध्यान दिनु आवश्यक छ ।”
उनले आफूले यसका लागि काठमाडौँ महानगरपालिकासँगै अन्य सरोकारवाला निकायसँग छलफल गरे पनि परिणाम नदेखिएको बताइन् । महिला हिंसा रोक्ने र सचेतना बढाउने विषयलाई चलचित्रमा स्थान दिन चलचित्रकर्मीलाई उनले आग्रह गरिन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महिला सशक्त भएर आफ्ना आवाज बुलन्द रुपमा उठाउनुपर्छ भन्ने लागेर नै ‘महिला चलचित्र महोत्सव’ को आयोजना गरिएको बताए ।
“हाम्रो उद्देश्य नै महिलाका समस्यामा छलफल होस् र त्यो विषयलाई चलचित्रका माध्यमले आम मानिससम्म पु¥याउन सकौँ भन्ने हो, विगत तीन दिनदेखि चलेको महोत्सवमा महिलाका विषयमा बनेका चलचित्र, महिलाले बनाएका चलचित्र र महिला केन्द्रित विषयमा अन्तरक्रिया गरेका छौँ । यसको सकारात्मक प्रभाव आगामी दिनमा उहाँहरूमा देखिन्छ भन्ने लागेको छ”, अध्यक्ष डिसीले भने ।
त्यसअवसरमा ‘महिला चलचित्रकर्मी सम्मान’ द्वारा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री रश्मी भट्ट, अभिनेत्री पशुपति राई, अभिनेत्री थिन्ले ल्हामो, शृङ्गारिक शोभा श्रेष्ठ (मेकअप आर्टिस्ट), कलाकार तथा निर्देशक सरिता शाह र पत्रकार गीता अधिकारीलाई प्रदान गरियो । पुरस्कारको राशी रु २५ हजार रहेको छ ।
कार्यक्रममा सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, अभिनेता प्रदीप खड्का, निर्देशक दीपाश्री निरौलालगायत सहभागी हुनुहुन्थ्यो । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २० गते मङ्गलबारदेखि सुरू भएको ‘महिला चलचित्र महोत्सव’ मा विभिन्न चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया गरिएको थियो ।-रासस

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया