शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

११५औं अन्तराष्ट्रिय महिला दिवस नेपालमा पनि मनाइयो

सांकेतिक फोटो

काठमाडौं - ११५ औं अन्तराष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । 

‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ शनिबार अन्तराष्ट्रिय महिला दिवस मनाइएको हो । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको थियो । 

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले महिलाको समान सहभागिता र नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर, आर्थिक सशक्तीकरण, स्रोत साधनमा पहुँच बढाउनुपर्ने बताए । उनले सरकारले कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएपनि व्यवहारमा बिभेद अन्त्य हुन नसकेको धारणा राखे । 

त्यस्तै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणा मगरले सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणका लागि महिलापुरुषबीच समान अधिकार हुनुपर्ने बताए । उनले आफ्नो हक अधिकारका लागि महिलाहरु एकतावद्ध भए लड्नुपर्ने जिकिर गरे । 

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । महिला हक र अधिकारको माग सारेर महिलाले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।