तामाकोशी पाँचौंको कामकाज ठप्प

दोलखा - दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौं जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ ।
कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो ।
आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि हिजो बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिए ।
उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासीनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।
‘एक हप्ताभित्र सबै नेपाली श्रमिकहरूलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो काम नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापलाई पुनः ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन,’ अर्का कामदार मदन कुमार श्रेष्ठले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसै अनुसार अघि बढ्छौँ ।’
श्रमिकहरूले हिजो बुधबार संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरी कामकाज ठप्प पार्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अडिट–१ र २ को ठेकेदार कम्पनी हुनुपर्ने पनि स्पष्ट पारेको छ ।
उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धि/ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्न/बनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।
नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया