विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण

नेपालगञ्ज- बाँकेको कोहलपुरमा अति विपन्न समुदायका लागि रु ४० लाखको लागतमा नमूना बस्ती निर्माण सुरु भएको छ ।
नगरपालिका–१४ हवल्दारपुरमा रहेका चिडिमार तथा खटिक परिवारका लागि बस्ती निर्माण थालिएको हो । नगरपालिकाको पहलमा छिमेक सेवा समाजले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षौंदेखि छाप्रोमा सकसपूर्ण जीवन बिताइरहेका उनीहरू पक्की घरमा बस्न पाउने छन् ।
नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा आठ घर निर्माण थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । विपन्न परिवारको जीवनस्तर माथि उठाउने स्थानीय सरकारको कर्तव्य भएकाले नमूना बस्ती निर्माण सुरु गरिएको उनले बताए ।
समाजले अन्य ठाउँमा पनि विपन्न समुदायका लागि नमूना बस्ती निर्माण कार्यक्रमअन्तर्गत आवास बनाउने भएको छ । हवल्दारपुरमा करिब ३० परिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको कोहलपुर–१४ का वडाध्यक्ष नमबहादुर आलेले बताउनुभयो । उहाँले आठ वटा घरका लागि रु ४० लाख लागत रहेको र शौचालय, पानी र बाटोका लागि स्थानीय सरकारले सहयोग गर्ने जानकारी दिए ।
सामाजिक अभियन्ता एलबी कार्कीले आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको बताए । संस्थाले दुईकोठे पक्की घर बनाइदिनेछ । वर्षौंदेखि झुप्रोमा बस्दै आएका उनीहरू पक्की घर पाउने भएपछि खुसी छन् । गर्मीयाममा जसोतसो दिनरात कटे पनि वर्षायाम र चिसोयाममा सकसपूर्ण अवस्था व्यहोर्नु परेको मोलहे खटिकले दुखेसो सुनाए ।
पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायत विपन्नका घर निर्माण हुनेछन् ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया