आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

तिमी यसरी आयौ

तिम्रा जिजुबाजेहरू सिमा पारीबाट फर्किएथे
लछप्पै भिज्दै नुनका भारी बोकेर 
मैले यही काखमा बसालेर हम्किदिए चिसो हावा
पुछिदिए पसिना
र उकालो लगाइदिएँ जिन्दगीको

तिम्रा बाजेहरू फर्किएथे बेसी सहरबाट
खुइइय सुस्केरा हाल्दै डोकाभरि औषधि बोकेर
मैले यही काखमा बसालेर लगाइदिएँ मलम पानी
रगताम्मे गोडाहरूमा
र सिकाइदिएँ हाम्रो माटोमा औषधि छ भनी

फेरि कुनै दिन तिम्रा बाहरू फर्किएथे सहरबाट
सकी नसकी तिम्रो लेखपढको सामान बोकेर
बसेथें मेरै काखमा 
अनेकन् खुशी पोखेथे तिमीलाई पढाउन पाएकोमा
मैले पनि सम्झाएथेँ-
पढ्नु भनेको ज्ञानको तेस्रो आँखा खोल्नु हो
काँध थपथपाउँदै उकालो पठाएथेँ ।

वर्षौँसम्म आउनेहरू पनि आइरहे
जानेहरू पनि गइरहे

सुखमा पनि आए, सँगै रमायौँ
दुखमा पनि आए, सँगै रोयौँ

बुढापाका आए
जीवन र जगतका कुरा गर्यौँ, 
तन्नेरी वयहरू आए
रस रागका कुरामा भुल्यौँ
कलिला मुनाहरू आए
लुकामारी खेल्यौँ

कैयौँ छिमल पङ्खीहरूले आफ्ना बचेराहरूलाई 
मेरै हातबाट आकाश देखाए
सैयौँ चौपायाहरू आएर सुस्ताए
मेरै नजरबाट दुनियाँ देखाए
हज्जारौँ पुतलीहरू उडाएँ
लाखौँलाई जीवनदान दिएँ

सबैलाई सक्नेजति सबै दिएँ
रित्तिएर दिएँ, सकिएर दिएँ
काटिएर दिएँ, चोइटिएर दिएँ
बिरक्तिएर होइन खुशी खुशी दिएँ

वर्षौँसम्म आउनेहरू पनि आइरहे
जानेहरू पनि गइरहे 
तर तिमी आएनौ,
सम्झिरहेथेँ -
तिम्रा बाले तिम्रा लागि किताब कापी बोकेर गएथे कुनै दिन
सोँचिरहेथेँ -
एकदिन त तिमी पनि अवश्य आउँनेछौ सुस्ताउन मकहाँ
कल्पिरहेथेँ -
तिमी निक्कै धेरै पढेर ज्ञानी भएर आउँनेछौ 
र लुटुपुटाउँनेछौ ममाथि 
भन्नेछौ- म तिमीलाई अझै सिङ्गार्नेछु
भन्नेछौ- म यो भूगोलभरि हरियाली बनाउनेछु
भन्नेछौ- ईश्वर त तिमी नै पो रहेछौ
म पुलकित हुँदै तिमीलाई अङ्कमाल गर्नेछु

अन्ततः तिमी पनि फर्कियौ राजधानीबाट
मेरो प्रतिक्षाको समयको काँटा रोक्दै

फर्कियौ तिमी
हातभरि अत्याधुनिक औजार
झोलाभरि  सरकारी कागजपत्र
र दिमागभरि फुस्रो विकासको नारा बोकेर
हेर्यौ बडो उपेक्षामिश्रित नजरले मलाई 
र प्रहार गर्यौ आफ्नो स्वार्थको औजार ममाथि

तर यसरी पनि आऊला तिमी -
मैले त सोँचेकै रहेनछु ।