नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडकले दिए पुगेको सिफारिस

नमूना पेट्रोल पम्पका लागि दूरि नपुग्दा पनि आर्थिक सेटिङ्गमा सडक डिभिजन कार्यालय सिरहाले दूरि पुगेको सिफारिस गरेको पाईएको छ। नेपाल आयल निगमको बिराटनगर स्थित प्रादेशिक कार्यालय,सडक डिभिजन लहान, नापी कार्यालय लहानसमेतले भगवती ट्रेड सेन्टरका लागि दूरि नपुगेपनी मिलोमतोमा पुगेको सिफारिस गरेको तथ्य बहिरिएको हो ।
यी कार्यालयहरुले दिएको सिफारिसमा सखुवानन्कारकट्टी गाउँपालिका ३ मा रहेको एसपी आयल स्टोरदेखि नयाँ खोल्न लागिएको पम्प नवराजपुर गाउँपालिका १ भगवतिपुर तामासुइया सम्मको दूरि १० किलोमिटर एक सय मिटर रहेको उल्लेख गरिएको छ ।
नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ विक्रेता विनियमावलि २०७५ को नियम १४ को १ (ग) मा एउटा नमूना पेट्रोल पम्पको विक्री स्थलबाट अर्को नमूना पेट्रोल पम्पको विक्री स्थलसम्मको दुरी दश किलोमिटर अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
पम्पका लागि दुरी मापन गर्दा भरपर्दो साधन प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ । तर, ती कार्यालयहरुले भने मोटरसाईकल र कारले नै दुरी नापेका थिए । दुरी नपुगे पनि पुगेको सिफारिस गरे पछि एसपी आयल स्टोरले ओडो मिटर लिएर दुरी नाप्दा सञ्चालित पम्प र खोल्न लागिएको नयाँ पम्पको दुरी ९.६८ किलोमिटर मात्रै पुगेको छ ।
तर, सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा सो पम्पका लागि दुरी नपुग्दा पनि दुरी पुगेको सिफारिस दिइएकोले आर्थिक चलखेल भएको पुष्टि हुन्छ। सडक डिभिजन लहानका प्रमुख आशुतोष कर्णले पनि कार र मोटरसाइकलले दुरी नापेको स्वीकार गरे । सडक डिभिजन कार्यालयबाट दुरी पुगेको भन्दै फागुन ८ मा दिइएको सिफारिसमा कार्यालयका इन्जिनियर संजीव कुमार दासको हस्ताक्षर छ ।
नापी कार्यालय, लहानले पनि मोटरसाइकल लिएर नाप गरेको जनाइएको छ । फागुन १८ मा नाप पुगेको सिफारिस दिने कार्यालयका कर्मचारी इन्द्रनारायण यादव भन्छन्, ‘हामीसँग नाप्ने अन्य श्रोत साधन छैन, त्यसैले मोटरसाइकलले नै नाप्यौं, हामीभन्दा पहिल्यै सडकले सिफारिस दिएको थियो, त्यसलाई पनि आधार मानेर सिफारिस दियौं ।’
तर, ती कार्यालयबाट दूरि नाप जाँचका लागि आएका कर्मचारीहरुले पनि ओडो मिटर लिएर नापेको स्थानिय रुपचन्द्र यादवले बताए। उनले भने, ‘दूरि नपुगेपछि मोटरसाइकल र कारले नापेका थिए । मोटरसाइकल र कारले नाप्दा पनि दूरि नपुगेको र तर केही समयपछि दूरि पुगेको भनेर सिफारिस दिइएको सुनेको बताए ।’
सडक डिभिजन लहान हेर्ने झापाको दमकस्थित संघीय सडक अनुगमन तथा निरीक्षण कार्यालयका प्रमुख विनोद मौवारले दूरि नपुगेको खण्डमा त्यसरी सिफारिस दिन मिल्दैन। आफूले यस विषयमा थप बुझ्ने प्रतिक्रिया दिए । यस विषयमा दूरि नपुग्दा पनि पुगेको सिफारिस दिइएको भन्दै एसपी आयल स्टोरको तर्फबाट फुलोदेवी यादवले फागुन १८ मा नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभाग, टेकुमा उजुरी पनि दिएका छन् ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय, बिराटनगरका प्रमुख पुष्कर कार्कीले उजुरी आइसकेपछि आफू पनि यस विषयमा थप बुझिरहेको बताए । नेपाल आयल निगमका केन्द्रीय प्रवक्ता मनोज ठाकुरले अहिलेसम्म दूरि पुगेको भन्ने कुरा नै आएको र नपुगेको खण्डमा पम्पलाई विक्रेता नियुक्त नगरिने बताएका छन् । ‘अहिलेसम्म हामीसँग दूरि पुगेको भन्ने नै छ,’ उनले भने, ‘यदि पुग्दैन भने पम्प हुँदैन ।’
नयाँ खोल्न लागिएको नमूना पम्पका सञ्चालक हुन्, नवराजपुर गाउँपालिका १ का धनपति दास । उनी नेपाल आयल निगमकै कर्मचारी रहेका चितरञ्जन दासका बुवा हुन् । चितरञ्जनसहित धनपतिका अन्य तीन छोरा पनि सरकारी जागिरे नै छन् । उनीहरुले दबाब प्रभाव र आर्थिक चलखेल गरेर पम्प खोलिरहेको स्थानीयहरु बताउँछन् । ‘एउटा छोरा आयल निगममै छन्, अन्य तीन पनि जागिरमै छन्, बुवालाई सञ्चालक राखेर जागिरमा कमाएको कालो धन पेट्रोल पम्पमा खन्याएर सेतो बनाउन खोज्दैछन्,’ एक स्थानीय भन्छन्, ‘पम्प खोल्न पनि व्यापक आर्थिक चलखेल भएको छ। कार्यालयपिच्छे नै लाखौं खर्च गरिएको छ ।’

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुन सक्ने

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा रिट, शुक्रबार पेसी

यस्तो हुनेछ आज दिनभरको मौसम

सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार

क्षयरोग अझै हराएन, पत्ता लाग्ने दर नै कम

प्रतिक्रिया