सोमबार १८ चैत, २०८१
Monday, March 31, 2025

चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउने फ्रान्सको भनाइ

बेइजिङ- फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबीच सशक्त साझेदारी’ का लागि आह्वान गरेका छन् । 

युक्रेनमा रुसी युद्धको समाधानका साथै मध्यपूर्वको द्वन्द्व र चीन र युरोपेली सङ्घबीचको व्यापार तनावको समाधानमा वार्ता केन्द्रित हुने पेरिसले अपेक्षा गरेको छ ।

ब्यारोटले बिहीबार बिहान बेइजिङमा चीनका उच्च कूटनीतिज्ञ वाङलाई भेटेर भन्नुभयो, “जताततै सङ्कटको गति तीव्ररूपमा बढिरहेको छ। यतिवेला चीन र फ्रान्सबीचको सहकार्य सशक्त हुनु जरूरी छ।”  

कोरियाली प्रायद्वीप र युक्रेनमा बेइजिङ र पेरिसबीच ‘मतभेद’ रहेको स्वीकार गर्दै उनले भने, “हाम्रा दुई देशले मिलेर काम गर्नुपर्छ।” 

“राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरूको सामना गर्दै द्रूत गतिमा नयाँ युरोप उदय भइरहेको छ। यसको एकमात्र मार्गनिर्देश रणनीतिक स्वायत्तता हो,” उनले भने । 

“यो नयाँ युरोपले आफ्नो रक्षा, ऊर्जा सुरक्षा र भविष्यका प्रविधिहरूमा ठूलो लगानी गरिरहेको छ,” ब्यारोटले भने । 

उनले भने, “आफ्नो हित र मूल्यमान्यताको रक्षाका लागि फ्रान्स विशेष सजग रहनेछ ।”

भेटमा चिनियाँ कुटनीतिज्ञ वाङले ‘अन्तर्राष्ट्रिय परिस्थिति फेरि परिवर्तन भएको र यो अझ अराजक हुने’ चेतावनी दिएका थिए । 

उहाँले दुवै देशलाई ‘बहुपक्षीयताको पालना गर्न’ र ‘विश्व शान्ति र विकासका लागि मिलेर काम गर्न’ आग्रह गरे । 

ब्यारोटले चीनमा रहेका फ्रान्सेली विदार्थीहरूसँगको भेटमा भने, “वर्तमान सन्दर्भमा भूराजनीतिक स्थिरता, समृद्धि र हाम्रो ग्रहको भविष्यको सेवामा शक्तिशाली फ्रेन्को–चिनियाँ साझेदारीको पहिलेभन्दा बढी आवश्यकता छ,” उनले विद्यार्थीहरूलाई भने ।
 
चीनले यस साताको ब्यारोटको भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेको छ ।

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सङ्केत गर्दै दुवै पक्षले ‘एकपक्षीयता र जङ्गलको कानुनको पुनरुत्थान’ को संयुक्त रूपमा प्रतिरोध गर्ने उपायबारे छलफल गर्ने बताइएको छ ।

बेइजिङमा उच्च अधिकारीसँगको भेटपछि ब्यारोट चिनियाँ आर्थिक नगरी साङ्घाई जान कार्यक्रम रहेको छ । साङ्घाइमा रहँदा उनले फ्रान्स–चीनबीचको एक व्यापार मञ्चमा भाग लिने र शुक्रबार एयर लिक्विड समूहद्वारा निर्मित हाइड्रोजन उत्पादन प्लान्टको उद्घाटन गर्नेछन् ।

बेइजिङले यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने बताएको छ ।

फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्ध बढाउन खोजेका छन्, तर पेरिसले मस्कोसँगको सम्बन्धलाई लिएर बेइजिङको नीति परिवर्तन हुनुपर्ने दबाब दिएको छ । युक्रेनको आक्रमणपछि चीन र रूसबीचको पारस्परिक सम्बन्ध थप बलियो भएको छ।

चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ रहेको बताएको छ ।

चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक सहयोगी हो र नेटोका सदस्यराष्ट्रहरूले बेइजिङलाई युद्धको ‘निर्णायक सहयोगी’ को संज्ञा दिएका छन्। (एएफपी)