बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

मुलुक आजदेखि संक्रमणकालमा प्रवेश गर्‍योः प्रवक्ता नेपाल

फाइल फोटो

काठमाडौँ- राजतन्त्र पुनःस्थापना संयुक्त जनआन्दोलन परिचालन समितिले मुलुक संक्रमणकालमा प्रवेश गरेको ठहर गरेको छ । शुक्रबार तीनकुनेमा भएको झडप तथा प्रदर्शनपछि समितिले विज्ञप्ति जारी देश संक्रमणकालमा प्रवेश गरेकाले गणतन्त्र कागजमा मात्र सीमित रहेको जनाएको छ ।

अहिलेको अवस्थालाई ध्यानमा राखी पुरानो संसदीय व्यवस्थावादीहरुले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेको समितिको बुझाइ छ ।

समितिले संयुक्त जनआन्दोलनको नीति शान्तिपूर्ण र भद्र अवज्ञा रहेको स्पष्ट पारेको छ । सरकारले दमनपूर्ण नीति लिएर घुसपैठियाहरुमार्फत अराजक गतिविधि गरेको समितिको आरोप छ ।

यो आन्दोलन अब सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित समितिले चेतावनी दिएको छ । घाइते आन्दोलनकारी, प्रहरीहरुको तत्काल निःशुल्क उपचार गर्न समितिले माग गरेको छ । क्षति पुगेका व्यवसायीहरुका लागि क्षतिपूर्तिको तत्काल व्यवस्था गर्ने र यस घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समितिले आग्रह गरेको छ ।

बालाजु, कलंकी, बूढानीलकण्ठ चाबहिल लगायतका क्षेत्रबाट रिंगरोड नछोई र रिंगरोडबाट भित्रसमेत प्रवेश नगरी कोटेश्वर पुग्नु उर्दी जारी गरी सो स्थानबाट कोटेश्वरतर्फ आउने नागरिकहरुमाथि दमन भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ,’ पूर्व एकतर्फबाट मात्रै आएका नागरिकको समूह नै निरंकुशतावादीहरुले सत्ता शक्ति जनताका सुरक्षाकर्मीहरुको दुरुपयोग गरी भृकुटी मण्डपमा सुरक्षाघेराभित्र गरेको कार्यक्रममा भन्दा कयौं गुणा बढी सहभागी भएपछि आत्तिएको सत्ताधारी जत्थाका घुसपैठियाहरुले निजीघर भित्रबाट जनसमुदायमाथि प्रहार शुरु गरेका थिए ।

निजी घरभित्रबाट समेत भएको दमनका कारण आक्रोशित जनसमुदायबाट समेत आत्मरक्षाका लागि प्रतिकार भएको समितिले प्रस्ट पारेको छ । कार्यक्रमस्थलमा नेतृत्वगण आइपुग्ने समय समेत नदिई भएको घुसपैठ र दमनबाट उत्पन्न अशान्त वातावरणका लागि निरंकुश सत्ताले जिम्मेवारी लिनु पर्ने समितिको ठहर छ ।