महिलाहरुलाई सङ्गीत सीप सिकाउन मादल बजाउने तालिम

म्याग्दी (बेनी)- म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ साझापानीमा महिलाहरुलाई सङ्गीत सीप सिकाउनका लागि मादल बजाउने तालिम प्रदान गरिएको छ । मौवाफाँट सामुदायिक सिकाइ केन्द्रले वडा नम्बर २ भगवतीमा रहेको आयआर्जन समूहका महिलाहरुका लागि सात दिने मादल बजाउने तालिम प्रदान गरेको हो ।
भगवतीका विभिन्न टोलका ३३ जना महिलाहरुले सहभागिता जनाएको तालिममा सङ्गीत प्रशिक्षक गणेश सुवेदीले व्यवहारिक रुपमा मादल बजाउने सीप सिकाएका केन्द्रका परिचालक दुर्गादेवी भण्डारीले जानकारी दिए । उनका अनुसार मौवाफाँट आयआर्जन समूहका २६ जना महिलाहरुलाई समेत मादल बजाउने तालिम प्रदान गरिएको थियो ।
केन्द्रले नयाँ आयआर्जन समूहलाई मादल समेत उपलब्ध गराउने जनाइएको छ । तालिम समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँघरमा हुने पूजाआजा, भजनकृतन, रत्यौलीलगायत साँस्कृतिक कार्यक्रमहरुमा सङ्गीत सीप अनिवार्य भएको अवस्थामा महिलाहरुले सिकेको मादल बनाउने सीप उपलब्धिमूलक हुने बताए ।
उनले मौवाफाँटमा सामुदायिक सिकाइ केन्द्रको भवन निर्माण गरेर महिलाहरुको आयआर्जनसँग सम्बन्धित गतिविधिलाई व्यवस्थित गराउने तयारी गरिएको जानकारी दिए ।
कार्यक्रममा रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले महिलाहरुलाई सङ्गीत सीप तालिमले गाउँघरमा हुने सङ्गीतसँग सम्बन्धित कार्यक्रममा सहज हुने बताउँदै आयआर्जनमूलक कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । मौवाफाँट सामुदायिक सिकाइ केन्द्रले यसअघि वडा नम्बर १ बेग र वडा नम्बर ४ दग्नाममा समेत मुडा बुन्ने तालिम प्रदान गरेको थियो ।
गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म कार्यक्षेत्र रहेको केन्द्रले हरेक वर्ष महिलाहरुको सीप र आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई सञ्चालन गर्दै आएको मौवाफाँट सामुदायिक सिकाइ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ शर्माले बताए । उनका अनुसार, गाउँपालिकाले चालु आर्थिक वर्षमा आयआर्जन र सीपमूलक तालिमका लागि केन्द्रलाई रु एक लाख ७० हजार बजेट उपलब्ध गराएको छ ।
महिलाहरुको क्षमता विकास र आयआर्जन सुधारसँगै सीप विकासका लागि आगामी वर्षमा सामुदायिक सिकाइ केन्द्रलाई थप व्यवस्थित बनाउने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए ।

काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन

घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

औँसी नुहाउन एकैदिन १० हजार तीर्थालु मुस्ताङ भित्रिए

म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माण थालियो

तीस करोडको लागतमा अस्पताल भवन निर्माण

बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य
चम्घाका घरघरमा खानेपानी धारा

प्रतिक्रिया