वीरगञ्ज बालसुधार गृहका बालकहरूले गरे खानेपानी र पङ्खाको माग गर्दै प्रदर्शन

वीरगञ्ज- बालसुधार गृह पर्सामा रहेका बालकले सुधारगृहमा आधारभूत आवश्यकता समान नभएको भन्दै आज केही समय प्रदर्शन गरेका छन् । सुधारगृहमा खानेपानीको व्यवस्था, गर्मीयाममा बिग्रिएका पङ्खाको मर्मतसम्भार र शौचालयको उचित व्यवस्थापनलगायत स–साना २२ बुँदे माग राखेर मङ्गलबार केही समय प्रदर्शन गरेका हुन् ।
बालबिज्याइँ गरेर सुधारगृहमा रहेका रहेका एक बालकले सुधारगृह प्रशासनले गर्मीयाममा बिग्रिएका पङ्खा तथा कुलरसमेत मर्मतसम्भार नगरेर बेवास्ता गरेको आरोप लगाउनुभयो । “पचास जनाको क्षमता भएको बालसुधार गृहमा एक सय २७ जना बस्दै आइरहेका छौँ ।
'यसमा पनि गर्मीयाममा शुद्ध खानेपानीकोसमेत चर्काे अभाव खेप्दै आइरहेका छौँ”, बालसुधार गृहका एक बालकले भन्नुभयो, “हामीले बालसुधार गृहसँग ठूलाठूला माग पनि राखेका छैनौँ । गर्मीयाम बढेका बेला बिग्रिएको पङ्खासमेत मर्मत गरिदिनुस्भन्दा पनि बेवास्ता गरेपछि प्रदर्शन नगरेर के गर्ने !”
बालसुधार गृहमा रहेका अर्का बालकले नेपालगञ्ज, नुवाकोटलगायत बालसुधार गृहमा राम्रो खालको सेवासुविधा भए पनि पर्सामा भने हालत खराब भएको गुनासो गर्नुभयो ।
“हामीले जायज माग शान्तपूर्वक बालसुधार प्रशासनलाई भन्दा कहिल्यै पनि सुनुवाइ भएन । त्यसैले आज केही चर्को स्वरमा बाध्य भएर केही समय विरोध जनाएका हौँ”, उहाँले भन्नुभयो, “बालसुधार गृहमा अनुगमन र निरीक्षण गर्न आउने सरकारी वकिल कार्यालय तथा न्यायाधीशहरूले पनि ठूलाठूला आश्वासन दिएर जाने तर, हाम्रो मागको सम्बोधन नगर्ने परिपाटीले पनि प्रदर्शन गर्न परेको हो । पूरा नगर्ने हो भने हामीलाई आश्वासन नदेखाइयोस् ।”
बालसुधार गृहमा रहेका बालकले शौचालयको ढोका मर्मतसम्भार गर्नुपर्ने, मेसको ढोका मर्मतसम्भार गर्नुपर्ने, ग्यास फ्यान राख्नुपर्ने, पङ्खाको बोर्ड फेर्नुपर्ने, विद्युतको बल्ब फेर्नुपर्ने, कापीकलम शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने, डस्टबिन राख्नुपर्नेलगायत सामान्य खालका माग राखेका छन् ।
बालसुधार गृहमा रहेका अर्का बालक आफूहरूले रू १० हजार सङ्कलन गरे कराई खरिद गर्नका लागि रकम दिए पनि प्रशासनले सो खरिद गरेरसमेत नल्याइदिएको गुनासो गर्नुभयो । बालसुधार गृहका बालकले बालसुधार गृहमा कक्षा ८ देखि १२ कक्षाका विद्यार्थीहरूलाई अध्ययन गर्नका लागि शिक्षकको अभाव भएको पनि गुनासो गरेका छन् । “बालसुधार गृहमा आफ्नो अध्ययनलाई अघि बढाउन चाहने धेरै छौँ”, उहाँले भन्नुभयो, “सुधारगृह प्रशासनले शिक्षकको पनि व्यवस्था गर्न सकिरहेको छैन ।”
सुधार गृहमा रहेका बालबालिकाले जापनिज, कोरियन, अङ्ग्रेजीलगायत भाषाको कक्षा सञ्चालन गर्न अनुरोध गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल बालसुधारगृहमा रहेका बालकले उठाएका खानेपानी र पङ्खाको समस्यालाई दातासँग समन्वय गरेर एक साताभित्रै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“तपाईंले उठाउनुभएको कतिपय आधारभूत आवश्यकताको जायज मागहरूलाई सम्बोधन गर्नेछु”, उहाँले भन्नुभयो, “बालसुधार गृहमा प्रदर्शनी गर्ने, तोडफोड गर्नेजस्ता आवाञ्छित गतिविधिले कसैलाई पनि फाइदा गर्दैन । त्यसैले तपार्इंहरू पनि सभ्य र शान्तपूर्वक बस्नका लागि निर्देश गर्दछु, ।” प्रजिअ अर्यालले बुधबार १०ः३० बजे बालसुधारगृहका प्रशासन तथा बालसुधारगृहसँग सरोकारवाला निकायसँग बृहत् छलफल गरेर सुधारगृहमा तत्कालै समाधान गर्न सकिने मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै बालसुधारगृहका बालकहरू शान्त भएका छन् ।
पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बालसुधारगृहमा देखिएका जायज मागलाई प्रहरी र प्रशासन मिलेर समाधान गर्ने बताउँदै बालसुधारगृहमा अराजकता र उदण्डता नदेखाउन अनुरोध गर्नुभयो । “तपाईंहरूले शान्तपूर्वक माग राख्नुभयो । त्यस्ता खालका मागलाई हामीले सकेसम्म पूरा गर्ने प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो, “तपाईंहरूलाई सुधार गर्नका लागि ल्याएका हौँ ।
त्यसैले अर्का अवाञ्छित खालको अपराध गरेर फेरि थुनामा लैजान नपरोस् ।” बाल इजलासका क्षेत्रमा काम गर्दै आउनुभएकी सुष्मा शर्माले बालसुधारगृह प्रशासनले अति सामान्य खालका माग पनि सम्बोधन नगर्दा बालकहरू आक्रोशित भएको बताउनुभयो ।
“बालसुधारगृह प्रशासनले गर्नसक्ने पनि काम गर्न अलमल गर्दै आइरहेकाले पनि बालकहरूले बाध्य भएर नै प्रदर्शनमा उत्रिनुपरेको हो ।” बालसुधारगृह पर्साका निमित्त प्रमुख कृष्णप्रसाद साहले आज दिउँसो सुधारगृहका बालकले केही समय प्रदर्शन गरेको बताउनुभयो । प्रजिअ अर्यालले परवानीपुरमा व्यवस्थित खालको बालसुधारगृहका लागि तीन बिघा क्षेत्रफलको जग्गा खोजी गर्ने काम भइरहेको बताउनुभयो । –––

बालेनले काठमाडौँ आएका शिक्षकलाई भनेः सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ

अराजक गतिविधि र भीड नियन्त्रण गर्न बल प्रयोग गरेनौः केन्द्रीय प्रहरी प्रवक्ता आचा…

पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

भाटभटेनी लुट्नेहरूलाई कुट्ने सुरक्षागार्ड ५ लाखसहित सम्मानित

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया