ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा

खोटाङ- ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं ३ ऐसेलुखर्क बजारमा निर्माण सुरू गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो ।
अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले जानकारी दिए ।
भ्याटसहित रू १९ करोड ३० लाख ४४ हजार ३०० को लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।
लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । निर्माण सम्पन्न हुनै लागेको अस्पताल भवनको भूइँतलामा इमरजेन्सी ल्याब र ऐक्सरे सेवा, पहिलो तलामा शल्यक्रिया र ओपिडी सेवा, दोस्रो तलामा वार्ड र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ रहेको छ ।
विसं २०७९ साउन २६ गते सम्झौता गरिएको अस्पताल भवनको काम गत विसं २०८० माघ २३ गते सम्पन्न गर्नेगरी श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको छ । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला÷पुरूष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै ह्वील चियर गुडाउन मिल्नेगरी भौतिक संरचना निर्माण गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिए ।
“निर्माणाधीन अस्पताल भवनको काम गुणस्तरीय भएको छ । तोकिएकै समयमा निर्माणको काम पनि सम्पन्न हुने देखिएको छ”, उनले भने, “ऐसेलुखर्क बजार उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख बजार हो । यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा धेरै मानिसले दुःख पाएका छन् । अब त्यो समस्या हल हुन्छ ।”
प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याका ३०९ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो ।
निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनका लागि स्थानीय पर्शुराज भण्डारीले रू ३० लाख बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ३ ऐसेलुखर्क का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए ।
ऐसेलुखर्क बजारमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीयवासीका साथै छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाईसमेत सहज हुने गाउँपालिकाले जनाएको छ ।
उता, जिल्लाका अन्य स्थानीय तहमा निर्माणाधीन पालिकास्तरीय भवनमध्ये केहीमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् भने केहीमा अलपत्र अवस्थामा छन् । साकेला गाउँपालिकामा निर्माण गरिएको पाँच शय्याको अस्पताल भवन यसअघि नै सम्पन्न गरेर सञ्चालनमा ल्याइसकिएको छ ।
रासस

प्रचण्ड गणतन्त्रको संस्थापक हुन्, गणतन्त्र ढल्न खोज्दा परेको पीरले बोलेको कुरालाई …

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री ओली

राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

‘बजेटले अर्थतन्त्रका देखिएका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ’

मोहम्मद आफताब आलमलाई मस्तिष्कघात, आइसीयूमा उपचार हुँदै

सभापति देउवाद्वारा नेता अधिकारीको निधनप्रति दुःख व्यक्त

विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

प्रतिक्रिया