आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन सुनिश्चित गर्न माग गर्दै उच्च अदालतमा रिट

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुनिश्चित गर्न माग गर्दै उच्च अदालत दिपायलमा रिट निवेदन दायर भएको छ । 

कानून संकायका तेस्रो सेमेस्टरका विद्यार्थी इश्वरदत्त भट्टले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा बिहीबार रिट निवेदन दायर गरेका हुन् । 

रिट निवेदनमा भट्टले विश्वविद्यालयले चुनावका लागि सार्वजनिक कार्यतालिका जारी गरे पनि निर्वाचन प्रक्रियामा अनावश्यक अवरोध गरिएकाले विद्यार्थीहरूको संवैधानिक हक हनन भएको दाबी गरेका छन् । उनले चुनाव प्रक्रिया अघि बढाउन अदालतबाट अन्तरिम आदेश माग गरेका छन् । 

निवेदनमा उल्लेख अनुसार सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन निर्देशिका २०७९ को निर्देशन नं १२ (छ) अनुसार निर्वाचन अवरुद्ध गर्न नपाइने स्पष्ट व्यवस्था छ ।

तर, चैत्र १७ गते निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिँदा स्ववियु निर्वाचन अन्योलमा परेको छ । यसले मतदाता नामावलीमा नाम समावेश भएका विद्यार्थीहरूका मताधिकार हनन हुने खतरा बढेको भट्टको जिकिर छ ।