सोमबार २५ चैत, २०८१
Monday, April 07, 2025

आजदेखि  ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’अन्तर्राष्ट्रिय सम्मेलन हुने, परराष्ट्रमन्त्री राणाले उद्धघाटन गर्ने

काठमाडौँ - आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आजदेखि काठमाडौँमा सुरु हुँदैछ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा नेपालद्वारा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ।

सम्मेलनको उद्घाटन आज परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरू तथा आगलागी र विद्युतीय सुरक्षाका विज्ञहरूको उपस्थिति रहनेछ।

कार्यक्रममा चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलङ्का, भियतनाम, हङकङ, इन्डोनेसिया, मकाउ, फिलिपिन्सलगायत १४ देशका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। सहभागीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र उत्कृष्ट अभ्यासहरूको जानकारी दिन विविध सत्र, प्रविधि प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार नेपालमा प्रत्येक वर्ष आगलागीबाट ठूलो जनधनको क्षति हुँदै आएको सन्दर्भमा यस्ता सम्मेलनहरू अत्यावश्यक छन्। उनले प्रविधिमैत्री समाधान र समुदायस्तरमा सचेतनाको अभाव हटाउन सम्मेलनले सशक्त सन्देश दिने विश्वास व्यक्त गरे।

त्यस्तै, कार्यक्रम निर्देशक सुरेश श्रेष्ठले यो सम्मेलन सुरक्षासम्बन्धी नीतिमा सुधार ल्याउन र नीति निर्माता, सुरक्षा निकाय, विज्ञ तथा निजी क्षेत्रबीच सहकार्यको नयाँ सम्भावना खोल्न महत्वपूर्ण हुने बताए।

नेपालको सुरक्षा प्रविधि विकास, आगलागी न्यूनीकरण रणनीति तथा विद्युतीय सुरक्षालाई सुदृढ बनाउने लक्ष्यसहित आज सुरु हुन लागेको यो सम्मेलनबाट दीर्घकालीन प्रभाव पर्ने अपेक्षा गरिएको छ।