सोमबार २५ चैत, २०८१
Monday, April 07, 2025

बाँसका सामग्री निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय तालिमपछि प्रशिक्षार्थी उत्साहित

काठमाडौं- 'बाँसले जीवन राम्रो बनाउँछ' भन्ने नाराका साथ सुरू भएको बाँसको तालिम उत्साहपूर्ण सहभागिताको साथ सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम १५ दिनसम्म चलेको थियो । चैत १३ गतेदेखि सञ्चालन भएको तालिममा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट छानिएका २१ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।

तालिम समापन समारोहमा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तालिम अन्तर्राष्ट्रिय स्तरको नयाँ र आधुनिक तालिम भएको स्थानीयको लागि ठुलो अवसर भएको बताए । उनले तालिममा सिकेको सिप अरूलाई सिकाउन प्रशिक्षार्थीलाई आग्रह गरे । तालिमले बाँसबाट लाभ दिन सकिन्छ भन्ने ठुलो सम्भावना देखाएको बताए ।  तालिमबाट स्थानीय र चीनबीचको सम्बन्ध लाई समेत बिस्तार गरेको बताए । उनले तालिमबाट बजारको माग बढ्ने र स्वदेशमा रोजगारी सृजना गर्न सहयोग पुगेको विश्वास व्यक्त गरे। 

आयोजक संस्था सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले प्रक्षिक्षार्थीले १५ दिनको छोटो समयमा समेत राम्रो ज्ञान हासिल गरेकोमा खुसी व्यक्त गरे। 

यस्तै गोदावरी ४ का वडाध्यक्ष सानुभाई नगरकोटीले चीनबाट आएर सिकाएको तालिमबाट सिकेको कामलाई व्यवसायिक बनाउन आग्रह गरे । चोया काट्ने मोसिन, बाँसको बीउ चीनबाट ल्याए अझै स्थानीयले लाभ लिने सक्ने भएकोले यसमा थप सघाउन उनले आयोजकलाई आग्रह गरे ।

नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनका अध्यक्ष रेञ्जिन नोर्बुले उच्चसहभागिताका साथ तालिम सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा पनि यस्तो सहकार्य जारी रहने प्रतिवद्धता जनाए । उनले नेपाल र चीनबीच जनस्तरमा रहेको सम्बन्धलाई यस्ता तालिमले थप मजबुद बनाउने धारणा व्यक्त गरे । 

बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकासले जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिमले  पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको आम्दानीको स्रोत नै बाँस बन्ने अपेक्षा गरिएको छ  । 

वडामै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको तालिम र प्रमाणपत्र प्राप्त गरेपछि तालिमले उत्साह थपेको प्रशिक्षार्थी दुर्गा पहरीले बताए ।  उनले ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने तालिम धैरै ज्ञान सिकेको बताए । उनले विगतमा सिकेको सीप भन्दा नयाँ सिक्न सफल भएको बताए । पुख्र्यौली पेसा भन्दा फरक सिपलाई मेहनत गरेर सहि रूपमा सदुपयोग गर्ने र 
भविष्यमा अरू तालिमको लागि आग्रह गरे ।

तालिमका प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र र सम्मानपत्रले सम्मान गरिएको थियो । 

सोशल डेभलपमेन्ट भिजन, ललितपुरको आयोजनामा सुरु भएको तालिमलाई चीनको सिजाङ (तिब्बत)मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् । स्थानीय साझेदारको रुपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ , ग्रीन ब्याम्बो क्रियशनको सहकार्यमा  तालिम संचालन भएको थियो ।