सोमबार २५ चैत, २०८१
Monday, April 07, 2025

राष्ट्रपति भवन अगाडि लघुवित्त-सहकारी पीडितको प्रदर्शन

काठमाडौँ- सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले राष्ट्रपति भवन नजिक धर्ना दिएका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी तथा बित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान(महासंघ)को अनुवाइमा उनीहरूले सोमबार काठमाडौँको शान्तिबाटीकाबाट र्‍यालीसहित राष्ट्रपति भवन नजिक पुगेर धर्ना दिएका हुन् ।

राष्ट्रपति भवन अगाडि नै धर्ना दिन खोजेपनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलम लगाउने काम गरलगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नारावाजी गरेका थिए ।

सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । उनीहरूले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरब्याजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।