मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै

२०४६ साल चैत २६ गते टुँडिखेलमा जम्मा भएका आन्दोलनकारी ।

काठमाडौँ- नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । 

विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । 

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । 

विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए ।

विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।