‘एडुक्लेभ ३.०’ सम्पन्न : शिक्षा क्षेत्रको सम्भावना, चुनौती र समाधानबारे गहिरो छलफल

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आयोजना गरेको तेस्रो संस्करणको ‘एडुक्लेभ ३.०’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य नेपाली शिक्षा प्रणाली, वैदेशिक अध्ययन, शैक्षिक परामर्श व्यवसाय र नेपाललाई शैक्षिक हबको रूपमा विकास गर्ने सम्भावनाबारे बहस र संवाद गर्नु थियो । कार्यक्रममा ६ वटा प्यानल डिस्कसन आयोजना गरिएको थियो । पहिलो सेसन “शैक्षिक परामर्श क्षेत्रको औद्योगिक मान्यता र सरकारको भूमिका“ शीर्षकमा सम्पन्न भयो, जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श क्षेत्रलाई सेवा उद्योगको रूपमा स्वीकार गर्दै यसको विस्तार र लगानी बढाउनु आजको आवश्यकता रहेको धारणा व्यक्त गरे ।
विद्यार्थी विदेश जानु नकारात्मक होइन : ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली विद्यार्थीहरुको वैदेशिक अध्ययनलाई नकारात्मक रूपमा हेर्नु उपयुक्त नहुने बताए । उनले शिक्षालाई रोजगारीसँग जोड्न नसक्दा वैदेशिक पलायन बढेको उल्लेख गर्दै नेपालमै पढ्दै कमाउँदै गर्ने वातावरण विकास गर्नुपर्नेमा जोड दिए । साथै सरकारले विदेश गएका विद्यार्थी फर्काउने बिषयमा गम्भीर भएर रणनीति बनाउनुपर्ने उनको भनाई थियो ।
शिक्षालाई राजनीतिक दलीयकरणबाट टाढा राख्नुपर्छ : सांसद सन्तोष परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालको शिक्षाले आमजनताको अपेक्षाअनुसार विकास गर्न नसकेको बताए । शिक्षा गुणस्तरीय हुनुका साथै व्यवहारिक पनि हुनुपर्नेमा उनको जोड थियो । शिक्षा सुधार गर्न सरकारले अभिभावकत्व ग्रहण गर्दै यसलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आजको आवश्यकता भएको उनको भनाई थियो ।
नेपाललाई शैक्षिक हब बनाउन रणनीति आवश्यक : राजेन्द्र बराल
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले विगत १९ वर्षदेखि नेपाललाई शैक्षिक हब बनाउने विषयमा आवाज उठाउँदै आएको तर सरकारको ठोस नीति नआएकोप्रति दुःख व्यक्त गरे । उनले विदेशी विद्यार्थीलाई नेपाल ल्याउन कन्सल्टेन्सीको भूमिका महत्वपूर्ण हुन सक्ने भन्दै बसोबास, भिसा र सुरक्षाको ग्यारेन्टी राज्यले दिनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ (इक्यानका अध्यक्ष शेषराज भट्टराईले विदेशिक अध्ययनमा गएका नेपाली विद्यार्थीलाई ‘सफ्ट पावर’ को रूपमा परिभाषित गर्दै उनीहरुको ज्ञान र सीपलाई देश विकासमा प्रयोग गर्न नीतिगत पहल आवश्यक रहेको धारण व्यक्त गरे ।
विद्यार्थी भिसा नीति निर्माणको खाँचो : सांसद स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नेपाललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न विद्यार्थी भिसासम्बन्धी नीति निर्माण अपरिहार्य भएको बताएका छन् । उनले शिक्षा क्षेत्रलाई लिएर सरकार अझ जवाफदेही बन्नुपर्नेमा जोड दिंदै विदेश पढ्न गएका विद्यार्थीलाई स्वदेश फर्काउने वातावरण बनाउनुपर्ने तर्क समेत गरे ।
३ लाख विद्यार्थी विदेश जान्छन् : मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले वार्षिक झन्डै ३ लाख नेपाली विद्यार्थी वैदेशिक अध्ययनका लागि जाने तथ्याङ्क सार्वजनिक गरेका छन् । हाल ५ लाखभन्दा बढी विद्यार्थी विदेशमा रहेका छन् भने ६० भन्दा बढी देशमा उनीहरूको उपस्थिति रहेको उनको भनाई छ । प्रवक्ता सापकोटाले एनओसी सम्बन्धी यकिन तथ्याङ्कको अभावलाई लज्जास्पद भन्दै मन्त्रालयले यसबाट पाठ सिकेर ऐन नियममार्फत सुधारको दिशामा अघि बढिरहेको जानकारी समेत दिए ।
जेन जेड पुस्ताको करियर अन्योलमा : नबिल बैंक सीईओ ज्ञवाली
नबिल बैंकका सीईओ मनोज ज्ञवालीले हालको युवा पुस्ता (जेन जेड) करियरको विषयमा अन्योलमा रहेको बताए । उनले साथीहरूको लहैलहैमा लागेर निर्णय गर्ने प्रवृत्तिले गलत असर पारिरहेको उल्लेख गर्दै अध्ययन, करियर र वैदेशिक शिक्षासम्बन्धी निर्णयमा मार्गदर्शन आवश्यक रहेको बताए ।
देशमै गर्न चाहने युवालाई पनि राज्यको व्यवास्ताः मिलन पाण्डे
युवा नेता तथा शिक्षा अभियानकर्मी मिलन पाण्डेले उच्च शिक्षा र रोजगारीको खोजीमा देश छाड्न बाध्य युवाप्रति चिन्ता व्यक्त गरे । देशमै केही गर्न चाहने युवालाई समेत राज्यले व्यवस्थापन गर्न नसकेको उनको गुनासो थियो ।
एडुक्लेभ ३.० का वक्ताहरूले नेपालको शिक्षामा रहेको सम्भावना, चुनौती र सुधारको खाँचोलाई स्पष्ट रूपमा उजागर गरेका थिए । गुणस्तरीय, व्यवहारिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने दिशा तर्फ अग्रसर हुन सके नेपाललाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न सकिने सबैको धारणा थियो ।

नेपालमा पहिलो पटक स्काइवेल पाइलट समिट हुँदै

एमाले निकट भुतपूर्व सैनिक-प्रहरी संगठनको अध्यक्षमा पुनः विनोद पाण्डे निर्वाचित
आजदेखि निजामती कर्मचारीहरू पनि आन्दोलनमा

सगरमाथामा नयाँ कीर्तिमान बनाउने प्रतिस्पर्धा
विश्व सम्पदा दिवस मनाइँदै

वृश्चिकलाई विगतका कमजोरी सच्याउने मौका, कर्कटलाई भाग्यले साथ दिने

वरियता मिच्दै एआइजी बढुवा सिफारिस गरेपछि प्रहरीमा व्यापक असन्तुष्टि

प्रतिक्रिया