बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउने विश्वास

काठमाडौं– नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजाइन र थप उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य राखेको छ । 

केही समय अघि मात्र भएको मेगा रिलिजमा प्रयोगकर्ताहरूले हाम्रो पात्रोलाई विल्कुलै फरक स्वरूपमा पाएको र यो अपडेटमा त्यस रिलिजमा प्रयोगकर्ताहरूबाट आएका सल्लाह सुझावहरूलाई मध्यनजर गर्दै आवश्यक सुधारहरू गरिएको हाम्रो पात्रोले जानकारी दिएको छ । 

विशेषगरी यस अपडेटमा प्रयोगकर्ताहरूले नोट्स र इभेन्ट्स पेजलाई एकदमै नयाँ डिजाइनमा देख्न सक्नेछन् । प्रयोगकर्ताहरूले नोट्सहरू लेख्दा शब्दमा मात्र नभई तस्वीर मार्फत् पनि आफ्नो योजना या सम्झनाहरूलाई व्यवस्थापन गर्न सक्नेछन् भने नोट्समा तस्वीर राख्दा प्रयोगकर्ताहरूले त्यही उपलब्ध भएको तस्वीर प्रयोग गरेर, आफै तस्वीर अपलोड गरेर या आफैंले चित्र कोरेर पनि कलात्मक रूपमा आफ्नो नोट्सहरू राख्न सक्नेछन् भने यसरी राखिएका नोट्सहरू हाम्रो पात्रोको क्यालेण्डर पेजमा पनि देख्न सक्ने बताईएको छ । 

त्यसबाहेक, प्रयोगकर्ताहरूले वर्षौदेखि राखेका नोट्सहरू हेर्न या व्यवस्थापन गर्न पनि अब सहज भएको छ । यो नयाँ अपडेटमा नोट्स फिचर एकदमै आकर्षक र व्यवस्थित भएको र प्रयोगकर्ताहरूले यसलाई अत्याधिक रुचाउने कुरामा हाम्रो पात्रो टिम विश्वस्त रहेको छ । 

यस अपडेटमा प्रयोगकर्ताहरूले पाउने अर्को मुख्य कुरा भनेको हाम्रो पात्रोको नयाँ फिड पेज अर्थात् “For you” पेज हो । यो फिड पेजमा विभिन्न जानकारीमूलक र मनोरञ्जनात्मक सामग्रीहरू आकर्षक डिजाइनमा देख्न सकिन्छ । यहाँ स्वास्थ्य, शिक्षा, जीवनशैली, प्रेरणादायक भनाइ र रमाइला तथ्यहरू समेटिएका छन्, जसले प्रयोगकर्ताहरूको दैनिक प्रयोगलाई अझ अर्थपूर्ण र रमाइलो बनाउनेछ। प्रयोगकर्ताहरूले फिड पेजमा रहेका सामग्रीहरूमा लाईक, कमेन्ट र शेयर गर्न सक्ने भएकाले यो पेज अत्यन्तै इन्टरेक्टिभ र आकर्षक बनेको छ। यसले प्रयोगकर्ताहरूबीच प्रत्यक्ष संवाद र अनुभव साझा गर्ने अवसर प्रदान गर्छ, जसकारण एप प्रयोग गर्दाको अनुभव अझ जीवन्त र सामूहिक हुनेछ।

त्यसबाहेक, प्रयोगकर्ताहरूले नयाँ वर्ष २०८२ को अवसरमा ७त्रगयतसनयाँ वर्ष विशेष पेज७त्रगयतस पनि हेर्न सक्नेछन् । यस पेजमा वर्षभरिका महत्वपूर्ण घटनाहरू समेटिएको समीक्षा, आकर्षक इ-कार्डहरू र नयाँ वर्षसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू समेटिएको छ। 

यस पेजमा २०८२ को साइत, बिदा, प्रमुख चाडपर्वहरू लगायत उचित मार्गदर्शन र प्रेरणाका लागि विस्तृत वार्षिक राशिफलपनि राखिएको छ । त्यसबाहेक यस पेजमा प्रयोगकर्ताहरूले २०८१ को सम्झना र २०८२ को उत्साहलाई समेटिएको आकर्षक क्विजहरू पनि खेल्न सक्नेछन् । नयाँ वर्षको उत्सवलाई अझ विशेष, जानकारीमूलक र भावनात्मक बनाउन यो पेजमा आवश्यक विवरणहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

हाम्रो पात्रोको सीइओ शंकर उप्रेतीले भने, “हाम्रो लक्ष्य केवल पात्रो बनाउने होइन, एउटा यस्तो डिजिटल साथी निर्माण गर्नु हो, जसले तपाईंको दैनिक जीवन सजिलो बनाओस्। यो अपडेट हाम्रो प्रयोगकर्ताको सुझाव र आवश्यकता अनुसार तयार पारिएको हो। त्यसैले पनि यो प्रयोगकर्ताहरूको लागि अझ उपयोगी, अझ सहज र अझ व्यक्तिगत बन्नेछ ।”

प्रयोगकर्ताहरूले अहिले हाम्रो पात्रोको तिथि मितीमा कुनै समस्या भएमा एकपटक हाम्रो पात्रोलाई अपडेट गर्नु हाम्रो पात्रोले सुझाव दिएको छ । थपसल्लाह सुझावहरू [email protected] मा पठाउन हाम्रो पात्रोले सबैलाई अनुरोध गरेको छ ।