आइतबार ३१ चैत, २०८१
Sunday, April 13, 2025

चोरीको अल्टो कार बरामद, १२ जना प्रतिवादी पक्राउ

रौतहट- रौतहट प्रहरीले भारतीय नम्बर प्लेटको चोरीको एउटा अल्टो कार बरामद गरेको छ भने १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय राजापुरबाट गएको गस्ती टोलीले राजापुर नगरपालिका-३ डमार चौकमा चेकजाँचको क्रममा कागजपत्र नभएको डिएल जी सी क्यू ८२७७ नम्बरको अल्टो कार बरामद गरेको हो।

बरामद कारको कुल ५ लाख रुपैयाँ मूल्यांकनसहित आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।

उता फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले जिल्लाको विभिन्न स्थानबाट १२ जना प्रतिवादीलाई पक्राउ गरिएको उनले बताए।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड जरिवाना तोकी लामो समयदेखि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बोक्सी आरोप मुद्दाका अनरजित महरा, रामफल महरा, रामापरी देवी, भोजेन्द्र महरा, कुटपिट मुद्दाका राम आधार यादव, प्रमोदी राय, गाली बेइज्जतीलगायतका मुद्दाका गरी १२ जना पक्राऊ परेका प्रवक्ता रायले बताएका छन्।

फैसला कार्वान्यनको लागि प्रतिवादीहरुलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको जिल्ला प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत झण्डै १ हजार प्रतिवादीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।