सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा २५ जनाको मृत्यु

पोर्ट सुडान- सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले आक्रमण गर्दा कम्तीमा २५ जना सर्वसाधारणको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिका समेत परेको स्थानीय स्वयम्सेवी समूहहरूले जनाएका छन् ।
उत्तर दारफुरको घेरामा परेको राजधानी अल–फासेरमा क्रियाशील स्थानीय प्रतिरोध समितिका अनुसार यो आक्रमण शिविरको दक्षिण र पूर्वतर्फबाट भारी गोलीबारी गर्दै गरिएको थियो ।
झण्डै दुई वर्षदेखि सुडानको सैनिक बल र अर्धसैनिक समूहबीच चलिरहेको सशस्त्र द्वन्द्वका कारण जमजमसहितका अन्य भीडभाडयुक्त विस्थापित शिविरहरू अत्यन्तै प्रभावित भएका छन् ।
गत महिनामा राजधानी खार्तुममा नियन्त्रण गुमाएपछि अर्धसैनिक समूहले सुडानको पश्चिमी भूभाग दारफुरमा आफ्नो पकड जमाउन आक्रमण तीव्र पारेको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार, उक्त समूहका सशस्त्र सवारी साधनहरू गोलीबारीको आडमा शिविरभित्र पसेका थिए ।
स्थानीय प्रतिरोध समितिका अनुसार आक्रमणको केही जवाफी प्रतिकार पनि गरिएको थियो, तर संचार माध्यम र इन्टरनेट बन्द भएकोले क्षतिको सम्पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।
गत वर्ष संयुक्त राष्ट्रसङ्घको सहकार्यमा भएको एक अध्ययनले जमजम क्षेत्रमा भोकमरीको स्थिति घोषणा गरेको थियो ।
सन् २०२३ अप्रिल १५ बाट सुरु भएको सैनिक नेताहरूबीचको सत्ताको सङ्घर्ष गृहयुद्धमा रूपान्तरण भएपछि अहिलेसम्म दशौँ हजार मानिसको ज्यान गइसकेको छ र एक करोडभन्दा बढी नागरिकहरू घरबारविहीन भइसकेका छन् । (एएफपी)

५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रूसमा १०० प्रतिशत कर लगाउँछौँ : ट्रम्प

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवत…

अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा : प्रतिवेदन
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि

लेबनानमा इजरायली हवाई आक्रमण : १२ जनाको मृत्यु

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

प्रतिक्रिया