सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

खार्तुम- सुडानको उत्तर दारफुर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको ज्यान गएको सेनाले जनाएको छ ।
सेनाको छैटौँ डिभिजनले जनाएअनुसार शुक्रबार उक्त समूहले आत्मघाती मानव रहित यन्त्र (ड्रोन) मार्फत आक्रमण गरेको थियो ।
मृतकमध्ये चार जना महिला र १० जना बालबालिका रहेका छन् भने १७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गरिएको छ ।
एल फासरको प्रतिरोध समितिको समन्वय समूहले पनि आक्रमणको पुष्टि गर्दै शहरको उत्तर र पूर्व भागमा मानव रहित यन्त्र र तोप प्रहार गरिएको जनाएको छ । साथै, नागरिकहरूलाई सडकमा ननिस्कन अनुरोध गरिएको छ ।
सुडानी चिकित्सक सञ्जालले एल फासर नजिकै रहेको जमजम नामक विस्थापित शिविरमा आरएसएफले दोस्रोपटक आक्रमण गरेको जनाएको छ । हालसम्म उक्त शिविरमा जनधनको क्षतिको पुष्टि नभए पनि यसरी ठूलो क्षमताको हातहतियार प्रयोग गर्नु हिंसात्मक गतिविधि वृद्धि भएको भन्दै सञ्जालले निन्दा गरेको छ ।
उत्तर दारफुर राज्यको स्वास्थ्य मन्त्रालयका महानिर्देशक इब्राहिम खातिरले जमजम शिविरमा आक्रमण भएको पुष्टि गरे । तर उक्त स्थान शहरबाट टाढा रहेको र सञ्चार सम्पर्कमा समस्या भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।
सन् २०२४ मे १० देखि एल फासरमा सुडानी सेना र आरएसएफबीच तीव्र लडाइँ जारी छ । यो द्वन्द्व सन् २०२३ को अप्रिलदेखि सुडानमा फैलिएको गहिरो सङ्कटको हिस्सा हो ।
संयुक्त राष्ट्रसङ्घद्वारा उद्धृत गरिएको एउटा अनुसन्धान संस्थाले दिएको जानकारी अनुसार सो द्वन्द्वमा हालसम्म २९ हजार ६ सयभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड ५० लाखभन्दा बढी व्यक्ति आफ्नै घरबाट विस्थापित भइसकेका छन् । (सिन्ह्वा)

भारतमा हवाइ उडानमा रोक, शनिबारसम्म २९ विमानस्थल बन्द

इजरायली सेनाले विद्यार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन विद्यालय

'गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत'

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गर्यो : दक्षिण कोरिया

एउटा यस्तो देश : जहाँ मान्छेभन्दा बढी छन् भेडा

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

प्रतिक्रिया