शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

बिपी कोइराला अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने सभापति देउवाको प्रतिबद्धता

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले   बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अस्पताल आज यहाँ आयोजित १७औँ वार्षिक साधारणसभामा उहाँले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताए ।

“सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ”, उनले भने । उनले देशको स्वास्थ्य क्षेत्रको विकासमा बिपी स्मृति अस्पतालले  गरेका कामको सराहना  गरे ।
     
पार्टीका नेता डा शेखर कोइरालालेसंविधान संशोधनमा विलम्ब  गर्न नहुने बताए । “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ”, उहाँले भन्नुभयो । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उहाँले जोड दिए । 

अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बिपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताए ।      

अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्षहरु डा केदारनरसिंह केसी, डा सुदामप्रसाद अधिकारी, अस्पतालका शेयरहोल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बिपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताए ।