मंगलबार ०२ बैशाख, २०८२
Tuesday, April 15, 2025

संविधानकाे परिधिभित्र बसाैं, चित्त नबुझेकाे कुरा विधि प्रकिया पूरा गरेर संशाेधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

काभ्रे : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सार्वभाैम संविधानसभाले बनाएकाे संविधानकाे खिलापमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानकाे परिधिभित्र बस्नुपर्ने बताउनुभएकाे छ । काभ्रेकाे नमाेबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चाैकी भवन उद्घाटन, बालमैत्री वडा घाेषणा र वडाकाे प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले जे गर्नुपर्ने हाे संविधानकाे परिधिभित्रै रहेर गर्नुपर्नेमा जाेड दिनुभयाे ।

`जे गर्नुपर्ने हाे संविधानभित्रै बसेरनै आफ्नो कामहरू गर्न सक्नुपर्छ । कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेकाे संघिय लाेकतान्त्रिक गणतन्त्रात्मक संविधानकाे खिलापमा गएर केही हुँदैन ´, उहाँले भन्नुभयाे,´ संविधानकाे प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । चित्त नबुझेकाे कुरा छन् भने विधि र प्रक्रियाअनुसार राख्न सकिन्छ । संविधान सशाेधन गर्न सकिन्छ ।´ ०१७ सालमा गुमेकाे अधिकार ३० वर्ष लामाे संघर्षबाट फिर्ता भएकाे चर्चा गर्दै उहाँले अहिले प्राप्त अधिकार उसै प्राप्त नभएकाे बताउनुभयाे ।

अधिनायकवादी व्यवस्थामा नागरिक अधिकार कुण्ठित मात्र नभई विकासकाे काम समेत हुन नसक्ने विगतकाे अनुभव सुनाउँदै गणतन्त्रपछि नागरिक अधिकार सुरक्षित भएकाे र विकासले गति लिएकाे दाबी गर्नुभयाे । अघिल्लाे पुस्ताले कष्टकर जीवन विताउनुपरेकाे अवस्था विर्सन नहुने भन्दै विकासकाे काम क्रमिक रूपमा हुने बताउनुभयो ।

०४६ काे परिवर्तनपछि विकासका धेरै काम भएकाे उहाँकाे भनाइ छ । त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जाेड दिनुभयाे। संघियतामा गएपछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएकाे भन्दै अब नागरिकलाई प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताउनुभयाे ।

`शहरहरू बनाउँदा प्रकृति मात्रै सुन्दर भएर हुँदैन । मानिसहरूलाई सुविधा पनि आवश्यक पर्छ । अस्पताल र प्रशासनिक भवन आज उद्घाटन भएकाे छ । भाेलिदेखि नै वडावासीलाई सुविधा हुनेगरि असपताल र प्रशासनिक भवनबाट काम हुनेछ भन्ने मलाई विश्वास छ,´ उहाँल भन्नुभयाे । उपप्रधानमन्त्री सिंहले नमाेबुद्द नगरपालिकाकाे ११ वटै वडामा आधुनिक स्वास्थ्यभवनबाट सुविधा दिइरहेकाे थाहा पाउँदा खुशी लागेकाे भन्दै उहाँले नागरिकलाई निराेगी बनाउन र समयमै उपचारका लागि देशका हरेक वडाबाट यस्तै स्वास्थ्य सेवा दिनुपर्नेमा जाेड दिनुभयाे ।

अहिले अवस्था फेरिएन भनेर केहीले अफवाह फैलाइरहेकाे भन्दै सचेत रहन पनि सिंहले आग्रह गर्नुभयाे । हल्ला जे पनि गर्छन्, त्यसमा आधार के छ बुझ्न आग्रह गर्दै उहाँले कागले कान लग्याे भन्दैमा कागकाे पछि कुद्ने भन्दा कान छाम्नुपर्ने बताउनुभयाे । स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिलाई सेवा गर्छ भनेरै जनताले मत दिएकाे भन्दै राजनीतिलाई सेवाभावकाे रूपमा अगाडि बढाउनुपर्नेमा पनि सिंहले जाेड दिनुभयाे । चुनावमा आआफ्नाे घाेषणापत्र लिएर मत मागेपनि चुनाव पछि सबेे मिलेर विकासकाे काम गर्ने राजनीतिक संस्कार विकसित गर्नुपर्ने पनि उहाँले बताउनुभयाे ।

`जनता र जनप्रतिनिधिकाे मिलन भयाे भने मात्र विकास निर्माणकाे काम राम्राे ढँगले हुनसक्छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`जनप्रतिनिधिले जनतालाई साथमा लिएर विकास निर्माणकाे काममा अघि बढ्दा राम्राे हुन्छ ।´ उपप्रधानमन्त्री सिंहले प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय हिसावले महत्वपुर्ण नमाेबुद्द नगरपालिकाकाे विकासमा शहरी विकास मन्त्रालयबाट हुने काममा आफूले पहल गर्ने प्रतिवद्दता पनि जनाउनुभयाे ।