समुद्री दुर्घटनाबाट जोगिन चीनको नयाँ प्रविधिः ‘हाइतुन–१’ मा सफल परीक्षण, अब अन्य क्षेत्रमा विस्तार
बेइजिङ- समुद्रमा पानी जहाजहरूको चाप बढ्दै गएको छ । यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । चीनका वैज्ञानिकहरूले एउटा नयाँ प्रविधियुक्त उपकरण विकास गरेका छन्, जसले पानी जहाजलाई चारैतिर ३६० डिग्रीसम्म हेर्न सक्ने सुविधा दिन्छ । यसले अँध्यारो, कुहिरो र खराब मौसममा पनि सुरक्षित रूपमा यात्रा गर्न सहयोग गर्छ ।
पुराना उपकरणहरूले केवल १२० डिग्रीसम्म मात्र देख्थे, जसले ‘ब्लाइन्ड स्पट’ बनाउँथ्यो । समुद्रका जहाजहरूमा ब्लाइन्ड स्पट भनेको त्यो क्षेत्र हो जहाँ क्यामेरा, रडार वा अन्य निगरानी प्रविधिले देख्न सक्दैनन् ।
यसको कारणले जहाजको चारैतिरका केही क्षेत्रहरू ‘अदृश्य’ बन्न सक्छन्, जसले दुर्घटनाको जोखिम बढाउँछ । उदाहरणका लागि परम्परागत पानी जहाजहरूमा यदि क्यामेराहरू केवल एक निश्चित कोणमा मात्र राखिएका छन् भने क्यामेराले देख्न सक्ने क्षेत्रको बाहिरी क्षेत्र ब्लाइन्ड स्पट हुन सक्छ ।
हरबिन इन्जिनियरिङ विश्वविद्यालयका डीन काई छेङताओका अनुसार यो नयाँ उपकरणले जहाजलाई सबै दिशा सजिलै देख्न सहयोग गर्छ । यसले अवरोध पहिचान गर्न सजिलो बनाउँछ र खराब मौसममा पनि यात्रा निरन्तर गर्न सकिन्छ ।
चौध वर्षको अनुसन्धानपछि बनाइएको यो चीनको पहिलो सबै मौसममा काम गर्ने, उच्च गुणस्तरको ३६० डिग्री दृश्य दिने प्रविधियुक्त उपकरण हो । यसमा ८ देखि १२ वटा क्यामेरा हुन्छन्, जसले देखिने र इन्फ्रारेड दुवै प्रकारको दृश्य समेट्छ ।
यस उपकरणको विशेषता भनेको सबै क्यामेराबाट आएको दृश्यलाई एकै साथ मिलाएर तुरुन्तै देखाउने क्षमता हो, जुन जहाजमै र टाढाबाट पनि हेर्न सकिन्छ ।
पछिल्ला तीन वर्षमा यस प्रविधिले सम्भावित दुर्घटनाहरू समयमै देखाएर रोक्न सफल भएको छ । अहिले यो ‘हाइतुन–१’ नामक अनुसन्धान जहाजमा प्रयोग भइरहेको छ । यसका साथै, बन्दरगाह निगरानी कार्यहरूमा पनि यसको प्रयोग भइरहेको छ । हाइतुन–१ भनेको चीनको एक अत्याधुनिक अनुसन्धान जहाज हो, जसले समुद्रको गहिराइ र वातावरणका विभिन्न पक्षहरूको अध्ययन गर्छ । यो जहाज चीनको समुद्री अनुसन्धानको प्रमुख हिस्सा हो र यसको प्रयोग अनुसन्धान, समुद्र सुरक्षा र अन्य महत्त्वपूर्ण समुद्री गतिविधिहरूमा भइरहेको छ ।
भविष्यमा यस्तो उपकरण वातावरण निगरानी र स्मार्ट यातायात क्षेत्रमा पनि प्रयोग गरिनेछ । (सिन्ह्वा)

भारतमा हवाइ उडानमा रोक, शनिबारसम्म २९ विमानस्थल बन्द

इजरायली सेनाले विद्यार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन विद्यालय

'गाजामा सहायता रोकिनु अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत'

उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गर्यो : दक्षिण कोरिया

एउटा यस्तो देश : जहाँ मान्छेभन्दा बढी छन् भेडा

चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

प्रतिक्रिया