मंगलबार ०२ बैशाख, २०८२
Tuesday, April 15, 2025

उद्यमशीलताको प्रवर्द्धन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारः सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा  रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गरेका छन् । नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने उनको विश्वास छ ।  

नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “हामीले लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौँ, यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो, हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन ।”

विविध संस्कृतिहरू र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरूतर्फ अगाडि बढिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् । 

शुभकामना सन्देशमा भनिएको छ, “नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको छु ।”

नेपालमा नयाँ वर्षको उत्सव सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो रूपमा गाँसिएको उल्लेख गर्दै उनले नयाँ वर्षलाई नवीकरणको प्रतीकको रुपमा मानिने बताएका छन् । जसले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न र एकताको भावना विकसित गर्न प्रेरित गर्ने उनको विश्वास छ ।