बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

चितवन - नेपालको अग्रणी हस्पिटालिटी चेन ब्राण्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका  अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए ।

नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । “सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र  सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले सिद्धार्थले होटलको व्यवस्थापनको जिम्मेवारी लिएको हो”, उनले भने । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य भएको न्यौपानेको भनाइ छ । 

करिब २५ रोपनीमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा छन् । साथै माया डाइनिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ । जंगल सफारीको रमाइलोका साथै सुपारी र नरिवललगायतका फलको बगैँचासमेत रहेको होटल नारायणघाट पुल्चोकबाट जम्मा ५०० मिटर दुरीमा अवस्थित छ । बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि भरपर्दो होटल हुने जनाइएको छ ।

होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने क्षमताको बोर्ड रुम पनि छ । कम्पनीले हाल भएको पूर्वाधारमा लगानी थप गरी सुविधा विस्तारको पनि योजना बनाएको छ । 

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि गरी होटलको स्तरोन्नति पनि गरिने बताए । “होटलमा हाल ४४ वटा रुम छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ, साथै तीन वटा सम्मेलन हलका साथै स्वीमिङ पुलको पनि स्तरोन्नति गरिनेछ”, सिइओ न्यौपानेले भने । होटलमा स्पा सुविधासहित हेल्थ क्लब र पुलसाइड  बारको पनि सविधा थप हुनेछ ।

सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । कम्पनीका अनुसार पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज रेष्टुरेन्ट, रिसोर्ट तथा एस क्याफे पनि सञ्चालन गरिरहेको छ । हाल सिद्धार्थ ग्रुपअन्तर्गत दुई हजार ५०० भन्दा बढीले रोजगारी पाइरहेका छन् ।