गाजा युद्ध अन्त्य गर्न र बन्धकहरूलाई फिर्ता गर्न आग्रह

जेरुसेलम- इजरायलको मोसाद गुप्तचर निकायका २५० भन्दा बढी पूर्व अधिकारीले गाजा पट्टीमा जारी युद्ध तत्काल अन्त्य गर्न र त्यहाँ रहेका इजरायली बन्धकहरूको रिहाईका लागि आग्रह गरेका छन् ।
उनीहरूले एक पत्रमा हस्ताक्षर गरी युद्ध अन्त्य र बन्धकको रिहाईका लागि आग्रह गरेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले आइतबार जनाएको छ ।
मोसादका तीन जना पूर्व प्रमुख डानी याटोम, एफ्रेम हालेभी र तामिर पार्डोका साथै उक्त सेवाबाट निवृत्त भएका अन्य दर्जनौं अनुभवी अधिकारीले हस्ताक्षर गरेका छन् ।
मोसादका पूर्व सदस्यहरूले पत्रमा भनेका छन्, “निरन्तरको लडाईंले बन्धक र हाम्रा सैनिकको जीवनलाई खतरामा पार्छ र त्यो दुःखको अन्त्य गर्ने सम्झौतामा पुग्नका लागि सबै सम्भावनाहरू खोजिनुपर्छ । साहसी निर्णय गर्न र देशको सुरक्षाका लागि जिम्मेवार भएर काम गर्न हामी सरकारलाई आह्वान गर्दछौँ।”
उनीहरूले आरक्षित वा सेवानिवृत्त सयौँ सैन्य एयर सदस्यहरूको पक्षमा समर्थन व्यक्त गर्दै शत्रुताको अन्त्य र बन्धकहरूको फिर्तीको लागि आह्वान गरेका हुन् ।
बिहीवार एयर क्रूहरूको पत्र प्रकाशित भएपछि इजरायली वायु सेनाका कमान्डर टोमर बारले हस्ताक्षरकर्ताहरूमध्ये सक्रिय रिजर्भिस्टहरूको सेवा समाप्त गर्ने निर्णय गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बर्खास्तीको निर्णयको समर्थन गर्दै हस्ताक्षरकर्ताहरूलाई ‘साना अतिवादी समूह’ को संज्ञा दिएका छन् भने उनीहरूले ‘इजरायली समाजलाई भित्रबाट तोड्न’ प्रयास गरिरहेको बताएका छन् ।
आइतबार पनि करिब २०० इजरायली सैन्य चिकित्सकले युद्ध रोक्न र बन्धकहरूलाई घर फर्काउन माग गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेको पत्रको प्रतिलिपि प्रकाशित गर्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
“गाजामा जारी लडाईंको मुख्य उद्देश्य कुनै सुरक्षा उद्देश्य बिना राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्नु हो र यसले सैनिक र बन्धकहरूको जीवनलाई खतरामा पार्छ,” विज्ञप्तिमा भनिएको छ।
हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणका क्रममा २५१ जनालाई गाजामा बन्धक बनाएको थियो । हाल गाजामा ५९ जना इजरायली बन्धक रहेका छन् र तीमध्ये २४ जना अझै जीवित रहेको अनुमान गरिएको छ ।
इजरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्धविराम सम्झौता भएको थियो । तर, पहिलो छ हप्ताको वार्ता मार्च १ मा सकिएपछि दोस्रो चरणको वार्तामा गतिरोध उत्पन्न भएको छ । त्यसपछि इजरायलले युद्धविरामको गतिरोधका बीच मार्च १८ मा गाजामा सैन्य कारबाही पुनः सुरु गरेको थियो । (सिन्ह्वा)
अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ व्यापार दूत नियुक्त

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

‘गोलकोण्डा ब्लु डायमण्ड’ ८० वर्षपछि लिलामीमा जाँदै, ७०० करोडसम्म पर्न सक्ने

जब मुस्लिम देशबाट एकैपटक डायनासोर जस्तै लोप भए हजारौँ यहूदीहरू

कैटी पेरी बनिन् अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका

चीनले लगायो बोइङ जेटबाट डेलिभरी र सामान खरिदमा प्रतिबन्ध

प्रतिक्रिया