बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई- चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी एसियाको भ्रमण सुरु गर्न लागेका बेला संरक्षणवादले ‘गन्तब्यमा नपुग्ने’ र व्यापार युद्धबाट  ‘कोही विजेता’ नहुने चेतावनी दिएका छन् । 
 
बेइजिङले क्षेत्रीय व्यापार सम्बन्धलाई मजबुत बनाउन र आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको ठूलो करको प्रभावलाई कम गर्न चाहेको बेला सीले यस वर्षको पहिलो विदेश भ्रमण गरेका छन् । 
 
उहाँले आफ्नो भ्रमणका क्रममा तीन दक्षिणपूर्वी एशियाली समकक्षीसँग भेटवार्ता गर्नुहुनेछ र यसले एसियाली क्षेत्रका लागि ‘विशेष महत्व बोकेको’ बेइजिङले जनाएको छ । 

भियतनामको प्रमुख न्हान डान पत्रिकामा सोमबार प्रकाशित एक लेखमा सीले दुई देशलाई ‘बहुपक्षीय व्यापार प्रणाली, स्थिर वैश्विक औद्योगिक र आपूर्ति श्रृङ्खला र खुला र सहयोगात्मक अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्न’ आग्रह गरेका छन् । 
 
उहाँले ‘व्यापार युद्ध वा कर युद्धले कुनै पनि विजेता उत्पादन गर्दैन र संरक्षणवादले कसैलाई कहीँ पनि पुर्‍याउँदैन’ भन्ने बेइजिङको धारणालाई पनि दोहोर्‍याएका छन् । 

बेइजिङले आफूलाई यस महिना व्यापक करको घोषणा गरेका अस्थिर ट्रम्पको स्थिर विकल्पको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ । यद्यपि, विश्व बजारलाई अस्तव्यस्त बनाएपछि चीनबाहेकका राष्ट्रहरूविरूद्ध घोषणा गरिएको आधारभूत करबाहेक प्रायः सबै निर्णयलाई उल्टाउँदै ९० दिनको लागि छूट दिन ट्रम्प बाध्य बनेको विश्लेषकहरूले बताएका छन् । 

लचिलो कूटनीति
भियतनाम १६१.९ अर्ब डलरको कारोबार गर्ने दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो चिनियाँ सामान खरिदकर्ता हो भने मलेसियाले २०२४ मा १०१.५ अर्ब डलरको सामान आयात गरेको थियो ।

दक्षिणपूर्वी एशियाली छिमेकीहरूसँगको सम्बन्धलाई मजबुत बनाउनाले पनि गत वर्ष चिनियाँ सामानको सबैभन्दा ठूलो एकल खरिदकर्ता हो र यसले अमेरिकाको करनीतिको प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ ।

सी सोमबार र मङ्गलबार भियतनाममा रहनुहुने कार्यक्रम रहेको छ । यो उहाँका ेसन् २०२३ डिसेम्बर पछिको भियतनामको पहिलो भ्रमण हो ।
 
भियतनाम र चीन दुवै कम्युनिस्ट पार्टीद्वारा शासित पहिले देखि नै ‘व्यापक रणनीतिक साझेदारी’ गर्ने मुलुक हुन् । यो हनोईको सर्वोच्च कूटनीतिक स्थिति हो।
 
भियतनामले लामो समयदेखि ‘लचिलो कूटनीति’ को दृष्टिकोण अपनाउँदै आएको छ र चीन र अमेरिका दुवैसँग राम्रो सम्बन्ध कायम राख्न प्रयासरत छ ।
 
दुई देशबीच घनिष्ठ आर्थिक सम्बन्ध छ, तर हनोईले विवादित दक्षिण चीन सागरमा बेइजिङको बढ्दो आक्रामकताविरूद्ध अमेरिकाको साथ भियतनामलाई रहेको छ । 

चीनले दक्षिण चीन सागरको लगभग सबै भाग आफ्नो भएको दाबी गर्दै आएको छ तर फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया र ब्रुनाईले यसलाई विवादित बनाएका छन् ।
 
चिनियाँ नेताले आफ्नो सोमबारको लेखमा बेइजिङ र हनोईले वार्ताको माध्यमबाट ती विवादको समाधान गर्न सक्ने बताएका छन् ।
 
“हामीले मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ र हाम्रो क्षेत्रमा शान्ति र स्थिरताको रक्षा गर्नुपर्छ,” सीले लेखेका छन् । 
 
उनले भने, “दूर दृष्टिका आधारमा हामी परामर्श र वार्ताको माध्यमबाट सामुद्रिक मुद्दाहरूको उचित समाधान गर्न पूर्ण रूपमा सक्षम छौँ ।”
 
भियतनामपछि सीले मङ्गलबारदेखि बिहीबारसम्म मलेसियाको भ्रमण गर्नेछन् । 

मलेसियाका सञ्चारमन्त्री फहमी फजिलले सीको भ्रमण चीनसहित विभिन्न देशससँग बेहत्तर व्यापार सम्बन्ध बनाउनका लागि ‘सरकारको प्रयासको उपलब्धीको एक हिस्सा’ भएको बताएका छन्
 । 

भ्रमणको क्रममा मलेसियापछि राष्ट्रपति सी बिहीबार नै दक्षिणपूर्वी एसियामा चीनको सबैभन्दा कट्टर सहयोगी मध्येको एक कम्बोडियाको भ्रमण गर्नुहुनेछ । कम्बोडियामा बेइजिङले हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गरेको छ । (एएफपी)