चार दिनमा निको हुने रुघाखोकी दुई हप्ता बढी लाग्दै

चितवन- यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो ।
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउँछन् । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उनले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताए ।
उनले भने, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ ।” खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उनले अझै एक महिना यस्तो समस्या रहने बताए । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो । सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउँछन् । उनले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिए ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा. शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउँछन् । रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उनको भनाइ छ ।
उनले भने, “कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उनले बताए ।
विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उनको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ । रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उनी बताउँछन् ।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउँछन् ।
उनले भने, “दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउँछन् ।” कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उनले जानकारी दिए ।
यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उनले बताए । पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उनले सङ्केत गरे । इन्फुन्जा नेपालमा रहेको भन्दै उनले भने, “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन ।”
वायु प्रदूषण अर्काे कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउँछन् । यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उनले बताए । उनले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन सुझाव दिए । रासस

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

अब 'एक्सरे'को आवश्यकता नपर्ने, सेन्सरले नै बताउनेछ हड्डीको अवस्था

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु

प्रतिक्रिया