शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

आफ्नै देश फर्किँदा विमानस्थलमा प्रहरीबाटै असुरक्षित : विमानस्थल कि दुर्व्यवहारस्थल ?

काठमाडौँ- भनिन्छ विमानस्थल बाह्य तथा आन्तरिक पाहुनाको पहिलो स्वागतस्थल हो । तर त्यहिँ नै प्रहरीबाटै यात्रुमाथि दुर्व्यवहार हुन्छ भने त्यो दुर्व्यवहारस्थल हो कि विमानस्थल ? यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने प्रहरीमाथि प्रश्न हो ।

घटना चैत ३१ गतेको हो, स्थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । मोरङका सञ्जय ओझा चैत ३१ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । ओर्लिएपछि उनको अध्यागमन र भन्सार जाँच पार पनि भयो । तर त्यसलगत्तै ओझामाथि नेपाल प्रहरीले दुर्व्यवहार गर्‍यो ।

१० दिनको बिदामा काठमाडौँ आएका ओझाको ट्रली बाहिर ल्याएको विषयमा विवाद भयो । विमानस्थलका कर्मचारीसँग ट्रली बाहिर ल्याएको विषयमा विवाद भएपछि उनले प्रहरी बोलाए । तर प्रहरीले उल्टै उनै ओझामाथि दुर्व्यवहार गर्‍यो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा भिडियो खिचिरहेको ओझाको मोबाइल खोस्न लागेको जस्तै देखिन्छ ।

त्यसलगत्तै तीन जना प्रहरीले ओझाको हात पछाडि राख्छन्, र तान्दै विमानस्थलको भवनभित्र लैजान्छन् । एक प्रहरीले उनको हातलाई पछाडि लगेर समातेका छन् भने अर्का प्रहरीले छातिमा तान्दै लगेको भिडियोमा प्रस्ट देखिन्छ । विमानस्थलको भवनभित्र पनि ओझा फुत्किन खोज्छन् तर प्रहरी उनलाई लछारपछार गरेको देखिन्छ । त्यसपछि एक जना महिलाआउँछिन् र ओझाको अगाडि बसेर प्रहरीसँग कुरा गरिरहेको भिडियोमा देखिन्छ ।

विमानस्थलमा भएको घटनाप्रति आफुहरूको गम्भिर ध्यानाकर्षण भएको काठमाडौँ उपत्यका प्रहरी रानीपोखीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवत्ता शेखर खनाल बताउँछन् । स्वदेश फर्किएका युवामाथि दुर्व्यवहार गरेको भिडियो सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएपछि उक्त घटना संग्लन तीन जना प्रहरीलाई विमानस्थलको सुरक्षा जिम्मेवारीबाट हटाएको खनाल बताउँछन् । उनका अनुसार ति प्रहरीलाई कार्यालयमा झिकाइ आवश्यक छानविन भइरहेको छ ।