आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

चन्दको पार्टीले देउवालाई तीन बुँदे कार्यान्वयन गर्न आग्रह गर्ने

फाइल तस्‍बिर

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले नवगठित शेरबहादुर देउवा नेतृत्वको सरकारसँग तीन बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गर्ने भएको छ । आज काठमाडौँमा बसेको नेकपाको सचिवालय बैठकले सहमति कार्यान्वयनका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले जानकारी दिए । उनकाअनुसार यसअघिको सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनलगायत विषयमा पुनः एक पटक राजनीतिक भेटघाट गर्ने निर्णयसमेत सचिवालयले गरेको छ । 

‘सहमति कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भयो,’ बैठकपछि बास्तोलाले इकागजसँग भने, ‘सरकार र हाम्रोबीचमा भएको सहमति कायान्वयन गर्न नयाँ सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । फेरि राजनीतिक भेटघाटलाई अघि बढाउने कुरा भएको छ ।’

गत फागुनमा केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग चन्द नेतृत्वको नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको थियो । सम्झौतापछि चन्द नेकपामाथिको प्रतिबन्ध हटाए पनि हिरासतमा रहेका नेकपाका सय बढी कार्यकर्ता अझै छुटेका छैनन् । दुई हजारमाथिको मुद्दासमेत फिर्ता भएको छैन ।