शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो

काठमाडौँ-‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनलाई अदालतले सफाइ दिएको छ। उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका छन्।

सर्लाहीकी नाबालिका अनुयायी ‘आनी’माथि यौन दुराचार गरेको आरोप लागेका बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको हो।

उच्च अदालत जनकपुरले सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई २०८१ चैत ६ गते सफाइ दिएको हो।  न्यायाधीश नरिश्वर भण्डारी र खेमराज भट्टको इजलासले बम्जनलाई मुद्दामा सफाइ दिएको अदालतका उप-रजिष्ट्रार सुशील यादवले बताए।

बम्जनलाई जिल्ला अदालत सर्लाहीले २०८१ असारमा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। त्यसविरूद्ध उनले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। ‘जिल्ला अदालत सर्लाहीले गरेको १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय उच्च अदालतबाट उल्टी भएको छ, अदालतले दाबी नपुग्ने देखिएपछि उक्त मुद्दा नै खारेज भएको छ,’ यादवले भने। 

उच्च अदालतले फैसला गरेको बखत बम्जन जिल्ला कारागार कार्यालय सिन्धुपाल्चोक थिए। उनलाई अर्की आनी फूलमाया रुम्बा बेपत्ता पारेको मुद्दाको सुनुवाइको लागि सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको थियो। ‘फैसला भएको राति चैत ६ गते हामीलाई पत्र आएको थियो,’ सिन्धुपाल्चोक कारागारका एक कर्मचारीले भने, ‘७ गते यहाँ कारागारबाट जानु भएको हो।’

कारागारबाट मुक्त हुँदा बम्जनलाई उनकी श्रीमती दीपशिखाले बुझेकी थिइन्। ती कर्मचारीका अनुसार रुम्बा बेपत्ता प्रकरणमा सिन्धुपाल्चोक अदालतले कात्तिक २५ गते धरौटीमा रिहा गरेको थियो।

बम्जनलाई तीन लाख धरौटीमा सिन्धुपाल्चोक अदालतले रिहा गर्ने आदेश दिएको थियो। सिन्धुपाल्चोकको मुद्दाको प्रारम्भिक सुनुवाइ सकिए पनि उनी त्यहीँ कारागारमा थिए। सिन्धुपाल्चोकको बाडेगाउँबाटै बेपत्ता पारिएका अर्का अनुयायी सञ्चलाल वाइबाको मुद्दा सरकारी वकिल कार्यालयले अघि बढाएको थिएन।

यसअघि २०८१ साउन ८ गते बम्जनको आश्रमबाट बेपत्ता भएकी अर्की आनी चिनिमाया तामाङ बेपत्ता पारिएको कसुरमा नुवाकोट जिल्ला अदालतले बम्जनलाई साधारण तारिखमा रिहा गरिसकेको थियो। बम्जनविरूद्ध एउटा निवेदन बारामा छ। जितपुर सिमरा उपमहानगरपालिका-१८ (हालको ठेगाना) बडहर्वाका सुरेशकुमार आले बेपत्ता प्रकरणमा बारा प्रहरीमा आफन्तले २०८० मंसिरमा निवेदन दिएका थिए। त्यो निवेदन अझैसम्म दर्ता भएको छैन।

सर्लाही बागमती नगरपालिका-१२ की रिता बोट बेपत्ता प्रकरणको उजुरी परेको थियो। त्यो उजुरी के भयो भन्ने सर्लाही प्रहरीले बताउन सकेको छैन। बम्जनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो। बम्जनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन।

कारागारबाट छुटेपछि बम्जन कहाँ गए प्रहरीले खोजी गरेको छैन। बम्जनको घर बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा हो।

बम्जनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। ३० वर्षीय उनको वास्तविक नाम रामलाल बम्जन हो। २०८० पुस २५ गते केन्द्रीय अनुसन्धान ब्युरोले बम्जनलाई हात्तीगौंडास्थित घरैबाट पक्राउ गरेको थियो ।