रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

रौतहट- एक बिवाहित युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ ।
बिहे गरेर पठाएको आफ्नी छोरीको शंकास्पद मृत्यु भएको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेको बताएका छन् ।
पिडित परिवारले शुक्रबार जिल्लाको गरुडामा पत्रकार सम्मेलन गरेर आफ्नी छोरी अल्का ठाकुरको शंकास्पद मृत्यु भएको र प्रहरीले जाहेरी समेत लिन नमानेको बताएका छन् । मृतक अल्का ठाकुरका बाबु रौतहटको गढीमाइ नगरपालिका ४ का रामकिशोर ठाकुरले आफ्नी छोरीको मृत्यु नै शंकास्पद भएको र प्रहरीले जाहेरी लिन नमानेर पिडिकसँग मिलेको आरोप लगाएका छन् ।
गढीमाई नगरपालिका ४ संग्रामपुर पर्साका रामकिशोर ठाकुरलाई फोन आयो– छोरी मर्न सक्छ, कस्तो कस्तो गरिरहेकी छ ?
ठाकुरले २०७६ जेठ ५ मा छोरी अल्का ठाकुरको बिहे दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका प्रेमनारायण झाको छोरा सञ्जीव झासँग गरेका थिए । हुन त जेठो छोरासँग बिहेको कुरो छिनिएको थियो तर बिहेको कुरो छिनिएको भोलिपल्ट नै जेठो छोराको स्थानीय एक युवतीसित प्रेम बसेको तीनै प्रेमीसँग भागेपछि झाका कान्छा छोरासँग अल्काको बिवाह भएको थियो । केही दिनमै सबै ठिकठाक पारी बिहे भयो । कुनै तिलक र दहेज नलिने कुरो भए पनि बिहेमा साढे २२ लाख रुपैयाँ खर्च भएको ठाकुरको दाबी छ । केटो जापानमा इन्जिनियर रहेको बुझिएकोले दिल खोलेर खर्च गर्न कुनै दुविधा भएन । केही महिनापछि ज्वाईँले गाडी किन्छु भनेपछि साढे तीन लाख रुपैयाँ पनि कोजाग्रत पूर्णिमाको दिन ज्वाईँको हातमा थमाएको ठाकुरको भनाइ छ ।
बिहे भएको करिब ६ वर्षमा विवाह दर्ता समेत नगराएको र ज्वाईँ जापानमा बस्दा खासै राम्रो सम्बन्ध नहुँदा छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरेर जिविका चलाउन थालेको उनले बताए । घरबाट अपहेलित भए पनि घरपरिवारमा मिलेर बस्ने र सबैलाई सहयोग गर्ने छोरी अल्का ठाकुरको बानी भएको कारण गत वर्षमात्र छोरीले ज्वाईँलाई ७ लाख रुपैयाँ दिएकी थिइन् । तर सबैतिर अपहेलनाको शिकार हुँदै जाँदा छोरी अल्का ठाकुर डिप्रेसनको शिकार पनि बन्न पुगिन् ।
अल्काका भाइ मनमोहन ठाकुरले पत्रकार सम्मेलनमा भने 'डिप्रेसन पनि पूर्णतया ठीक भइसकेको चिकित्सको सम्पूर्ण रिपोर्टले बताउँछ । दिदीले औषधिसेवन पनि छोडिसक्नु भएको थियो ।'
गत बैसाख १ गते घरमा सबैले पूजापाठ गर्दै खुसियाली मनाइरहेको बेला ज्वाईँले गरेको फोनबाट झस्केका ठाकुरले गौर नगरपालिकाको सिसवा गाउँमा रहेको आफन्तलाई तुरुन्त फोन गरेर घटनाबारे बुझ्न पठाउँदा छोरी अल्का ठाकुर घरको पंखामा झुन्डिएर मरेको अवस्थामा रहेको र प्रहरी तथा आफन्तले सबैतिरबाट घेरेको देख्दा उनी बेहोस् भएका थिए ।
प्रहरीले घटनास्थल मुचुल्का उठाई पोस्टमार्टमको लागि अस्पताल पठाउन लाग्दा ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौँमा नै गर्ने अडान लिएपछि बाध्य भएर प्रहरीले मृतक अल्का ठाकुरको भाइ मनमोहन ठाकुरको साथमा शव काठमाडौँ पठाएको थियो ।
काठमाडौँमा मृतकको शव बुझ्ने पनि भाइ मनमोहन नै हुन् । मृतकको शव रौतहट ल्याएपछि तीन ट्रक प्रहरीले घेरा हाली बलजफ्ती मत्सरीका आफन्तलाई बुझाएको आरोप ठाकुरको छ । रौतहटको गरुडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै मृतक ठाकुरका पिता रामकिशोर ठाकुर र आमा अनिताकुमारी ठाकुरले भक्कानिँदै भने, 'अस्पतालमा लास बुझ्ने मेरो छोरोलाई सद्गति गर्न नदिई प्रहरीले शव खोसेर मत्सरीका मानिसलाई बुझाए ।' शव माइती पक्षले लान्छुभन्दा उल्टै लाठी चार्ज गरेको गुनासो गरे ।
झा परिवारले बिहे भएको ६ वर्षसम्म छोरीको विवाह दर्ता गराएको थिएन, सोही परिवारसित मिलेर प्रहरीले हामीमाथि अत्याचार गर्यो पिडितका बाबु ठाकुरले सुनाए । छोरीको मृत्यु भएको अवस्थाको फोटोसमेत खिच्न नदिएको आरोप ठाकुरको छ । झा परिवारले मिलेर हत्या गरी झुन्ड्याएको ठाकुरको परिवारको गुनासो छ ।
'अहिलेसम्म प्रहरीले हाम्रो निवेदन पनि लिन मानेको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी नलिने प्रहरीको भनाइ रहेको छ'उने भने । जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले पोस्टमार्टमको रिपोर्ट आएपछि दर्ता हुने बताउँदै घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् ।

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

प्रतिक्रिया