सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

शरणार्थीलाई ओलम्पिकले दिएको मौका

काठमाडौँ: टोकियो ओलम्पिक २०२० आउँदो जुलाई २३ बाट सुरु हुँदैछ । जहाँ ११ हजार भन्दा बढी खेलाडीले ३३ खेलका ३३९ इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । करिब दुई सय पाँच मुलुकले आफ्ना खेलाडीहरूलाई जापानको राजधानी पठाउने अपेक्षा गरिएको छ । 

यस्तोमा विश्वभर छरिएर बसेका शरणार्थीहरूको टिमले पनि टोकियो ओलम्पिकमा भाग लिनेछ । त्यस टिममा २९ खेलाडी रहनेछन् । ती सबै खेलाडी बुधबार टोकियो पुग्‍ने तालिका छ । शरणार्थीहरूले पहिलो पटक ओलम्पिकमा भाग लिन लागेका भने होइनन् । उनीहरूकाे ओलम्पिक यात्रा रियो दे जनेरियोबाट सुरू भएकाे थियाे ।   

शरणार्थी टिमको गठन  

शरणार्थी टिमको इतिहास लन्डन ओलम्पिकबाट सुरु हुन्छ । र, याे इतिहास दक्षिण सुडानका धावक गुओर मारियालसँग जोडिएको छ । जो शरणार्थीका रूपमा अमेरिकामा बसोबास गरिरहेका थिए । उनले स्वतन्त्र खेलाडीका रूपमा लन्डन ओलम्पिक २०१२ मा भाग लिए । नयाँ मुलुक दक्षिण सुडानमा ओलम्पिक कमिटी गठन नभइसकेका कारण उनले आफ्नो मातृभूमिबाट ओलम्पिकमा सहभागिता जनाउन पाएनन् । 

सन् २०१५ मा अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले नयाँ निर्णय गर्‍यो । मारियालजस्ता खेलाडीहरूलाई संगठित रूपमा ओलम्पिकमा सहभागी गराउने । त्यसबखत विश्वभर शरणर्थीहरूको संख्या बढिरहेकाले पनि शरणर्थी टिम बनाउने निर्णय स्वागतयोग्य थियो । 

शरणार्थी टिमका लागि रियो ओलम्पिक २०१६ पहिलो सहभागिता बन्यो । शरणार्थी टिमको हिस्सा बन्‍ने सम्भावना रहेका खेलाडीहरूलाई छात्रवृत्ति दिइयो । त्यस ओलम्पिक यता शरणर्थी खेलाडीहरूका लागि करिब २० लाख डलर खर्च गरिसकिएको छ । अन्ततः २०१७ मा ओलम्पिक रिफ्युजी फाउन्डेसन पनि स्थापना गरियो । जसको उदेश्य हो, शरणार्थी खेलाडीहरूको वृति विकासमा सहयोग गर्नु ।

शरणार्थी टिमका लागि रियो ओलम्पिक २०१६ पहिलो सहभागिता बन्यो । शरणार्थी टिमको हिस्सा बन्‍ने सम्भावना रहेका खेलाडीहरूलाई छात्रवृत्ति दिइयो । त्यस ओलम्पिक यता शरणर्थी खेलाडीहरूका लागि करिब २० लाख डलर खर्च गरिसकिएको छ । अन्ततः २०१७ मा ओलम्पिक रिफ्युजी फाउन्डेसन पनि स्थापना गरियो । जसको उदेश्य हो, शरणार्थी खेलाडीहरूको वृति विकासमा सहयोग गर्नु । यस फाउन्डेसनले सन् २०२४ सम्म करिब १० लाख युवा शरणार्थीलाई खेलकुदसँग जोड्ने लक्ष्य राखेको छ । 

राष्ट्रिय गान तथा झण्डा

कुनै पनि मुलुकका खेलाडीले ओलम्पिकमा पदक जिते त्यस मुलुकको राष्ट्रिय गान बजाइन्छ । अनि त्यही मुलुकको झण्डा फहराइन्छ । तर शरणर्थी खेलाडीले पदक जिते ओलम्पिक कै गान बजाइन्छ भने झण्डा पनि आलम्पिककै फहराइन्छ । 

ओलम्पिक परेडमा पनि शरणार्थी टिमको सहभागिता रहनेछ । परेडमा सबैभन्दा अगाडि ग्रिसको टोली रहनेछ भने पंक्तिको दोस्रोमा शरणार्थी टिम हुनेछ । 

रियो ओलम्पिक २०१६

ब्राजिलको रियो दे जनेरियोमा भएको ओलम्पिकमा कुल १० शरणार्थी खेलाडीले भाग लिएका थिए । जसमध्ये पाँच खेलाडी दक्षिण सुडानबाट थिए भने समान दुई खेलाडी सिरियाली र कोगाेंली मूलका थिए । पाँचौ खेलाडी इथियोपियाका थिए । 

१० खेलाडीमध्ये छ जनाले एथ्लेटिक्सको स्पर्धामा भाग लिए । अनि बाँकी खेलाडीले पौडी र जुडोका इभेन्टहरूमा प्रतिस्पर्धा गरे । परेडमा शरणार्थी टिमको झण्डा बोके, रोज लोकोनयेनले । ८०० मिटर दौडमा भाग लिएका लोकोनयेन १० वर्षको उमेरमै सुडानबाट विस्थापित भएका थिए । 

टोकियो २०२० 

यस ओलम्पिकका लागि तयारी गर्न आईओसीले ५६ शरणार्थी खेलाडीलाई छात्रवृति दिएको थियो । जसमा २९ खेलाडी ओलम्पिकका लागि छनौट भए । खेलाडी छनौट गर्दा उनीहरूले संयुक्त राष्ट्रसंघबाट शरणार्थीको मान्यता पाएको, नपाएको पनि जाँच गरियो । अनि खेलाडीको व्यक्तिगत पृष्ठभूमि पनि हेरियो । समग्र टिम बनाउँदा लैंगिक र भौगोेलिक सन्तुलन कायम गर्ने प्रयास पनि गरिएको बताइएको छ ।

शरणार्थी टोलीमा रहेका छ खेलाडीले रियो ओलम्पिकमा पनि भाग लिएका थिए । जसमध्ये एक हुन्, सिरियाली पौडी खेलाडी युस्रा मारदिनी । २३ वर्षीया युस्रा सन् २०१५ मा बहिनीसँगै जर्मनी पुगेकी थिइन् । जर्मनी पुग्‍न उनले गरेको संर्घषको कथा कम अत्यासलाग्दो छैन । 

शरणार्थी टिममा रहेका २९ खेलाडीमध्ये नौ सिरियाली, पाँच इरानी, चार दक्षिण सुडानी र तीन अफगानी छन् । उनीहरूले कुल १२ खेलका विभिन्‍न इभेन्टमा भाग लिनेछन् ।   

युस्रा र उनकी बहिनी सारा चढेको डुंगामा १८ आप्रवासी थिए । समुन्द्र पार गर्दागर्दै उनीहरू सवार डुंगा पानीले भरियो । जसका कारण सुरक्षित स्थान पुग्‍न उनीहरूले कयौँ घण्टा पौडिनु परेको थियो । 

शरणार्थी टिममा केही नाम चलेका खेलाडी पनि छन् । जस्तै, किमिया अलिजेदा । उनले रियो ओलम्पिकमा इरानका लागि कास्य पदक जितेकी थिइन् । तेक्वान्दोकी खेलाडी अलिजेदा गतवर्ष मात्रै इरानबाट विस्थापित भएकी हुन् । हाल उनी जर्मनीमा बस्छिन् । 

जाबद महजुब पनि इरानबाट विस्थापित भएका खेलाडी हुन् । हाल क्यानडामा बसोबास गरिरहेका महजुदले एसियन जुडो च्याम्पियनसिप २०१३ मा स्वर्ण पदक जितेका थिए । शरणार्थी टिममा रहेका इरानी मूलकका अर्का खेलाडी हामुन डेराफ्सिपोरले पनि एसियाली प्रतियोगितामा पदक जितेका थिए । विश्व कराते च्याम्पियनसिप २०१८ मा डेराफ्सिपोरले कास्य पदक हात पारेका थिए । 

एएफपीको सहयोगमा