आज राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

राजसंस्था पुनर्स्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आझ आइतबार काठमाडौं प्रदर्शन गर्दैछ । राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय राप्रपाको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने राप्रपाको माग छ ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ पनि राप्रपाको प्रदर्शनमा सहभागी हुने भएको छ। कार्यवाहक संयोजक डा.जगमान गुरुङले विज्ञप्ति जारी गर्दै राप्रपाको आइतबारको प्रदर्शनमा सहभागी हुने जानकारी दिएका छन् ।
‘संवैधानिक राजसंस्था, सनातन हिन्दू अधिराज्य, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य एवं सुशासनको पक्षमा क्रियाशील रहेर २०८२ वैशाख ७ गतेदेखि राप्रपा लगायत सबै देशभक्त, राष्ट्रवादी दल, समूह, अभियानहरूबाट आयोजना हुने कार्यक्रमहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ, सहयोग रहने छ’, उनले भनेका छन् ।
गृह मन्त्रालयले भने राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ । यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यता, प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत भेटेका छन् ।
शुक्रबार बिहान ११:५० देखि झन्डै २ बजेसम्म चलेको बैठकमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना नेताहरू सहभागी थिए । भेटमा राप्रपा नेताहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र ज्ञानेन्द्र शाही बैठकमा सहभागी भएका जनाइएको छ ।
ज्ञानेन्द्रले राजसंस्था पक्षधर सबैलाई मिलाएर लैजान लिङ्देनलाई आग्रह गरेका थिए । नयाँ वर्षको शुभकामनाको बहानामा ज्ञानेन्द्रले निर्मल निवासमा राप्रपाका ७ जना नेतालाई ‘लन्च मिटिङ’मा बोलाएर राजसंस्था पुनर्स्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका हुन् ।

यो बाटो मात्र हिँड र यता नआउ भन्नु सरकारी निरंकुशतन्त्र होः लिङ्देन

राप्रपालाई गृह मन्त्रालयको चेतावनी- निषेधित घेरा तोडे कारबाही हुन्छ

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : प्रचण्ड

ओली, देउवा र प्रचण्डको एउटै मत- गणतन्त्र पक्षधर एकै ठाउँमा उभिऔं

नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : मन्त्री सिंह

गृहमन्त्री लेखक भन्छन्- सत्तासाझेदारीमा कुनै समस्या छैन

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली

प्रतिक्रिया