संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- संघीय संसद्का दुवै सदनको अधिवेशन आज दिउँसो १:०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन् । व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यक्रम छ ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो । राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले राससलाई बताए । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।
त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ । यो अधिवेशनमा संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ । अधिवेशन सञ्चालनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया