शुक्रबार १२ बैशाख, २०८२
Friday, April 25, 2025

रौतहटमा १४ वर्षीय बालकको हत्या, पाँच दिनपछि भेटियो शव

सांकेतिक तस्बिर

रौतहट- रौतहटमा एकजना १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ भने पाँच दिनपछि शव खोलामा भेटिएको छ।

जिल्लाको मध्यभाग गरुडा नगरपालिका-८ स्थित चाँदी खोलामा एक जना बालकको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो।

पछिल्लो पाँच दिनदेखि हराइरहेका वृन्दावन नगरपालिका-७ बस्ने सुरुज राय यादवको छोरा वर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो परेको अवस्थामा आज बिहान ९ बजे फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए। 

घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्कीसहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको छ।

शवको प्रकृति हेर्दा कर्तव्य गरि हत्या गरिएको जस्तो देखिएको डिएसपी कार्कीले जानकारी दिए। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डिएसपी कार्कीले बताए।

शवमा किरा लागिसकेको अवस्थामा भेटिएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिहापुर पठाइएको प्रहरीले जनाएको छ।

गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी बालक मोटरसाइकल चढेर निस्केका थिए ।

त्यसको तीन दिनसम्म बालक घरमा फिर्ता न आउँदा गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएका थिए । 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाइकल हालसम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।